Logo
३ आश्विन २०८१, बिहीबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नामाङ्कन एवं राजधानीका लागि समिति गठन

पोखरा : प्रदेश नं ४ को आजको प्रदेशसभा बैठकले प्रदेशको राजधानी एवं नामाङ्कनका लागि समिति गठन गरेको छ ।प्रदेशसभा सदस्य मायानाथ अधिकारीले गरेको प्रदेशको नामाङ्कन र राजधानी तोक्नका लागि गठित समितिका सदस्यको नामसहितको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको थियो । समितिका सदस्यमा धनञ्जय दवाडी, मीनप्रसाद गुरुङ, भगवतप्रकाश मल्ल, विन्दुकुमार थापा, दीपक कोइराला, चन्द्रबहादुर बुढा, कृष्ण थापा र हरिशरण आचार्य तथा प्रदेशसभाका सचिव पदेन सदस्य सचिव रहनुहुनेछ ।

समितिको कार्यावधि समितिले काम शुरु गरेको मितिले एक महिना हुने जनाइएको छ । आजको बैठकमा प्रदेश एवं स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक पेश भएको छ ।  बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको हो । मन्त्री चुमानले प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेश गर्नुभएको थियो ।

बैठकले प्रदेशसभाअन्तर्गत यसअघि नै गठित चार समितिमा सदस्य थप गर्ने निर्णय गरेको छ । विधायन समितिमा धनञ्जय दवाडी, सावित्रा राना र मनबहादुर गुरुङको नाम थप गरिएको छ । विधायन समितिमा यसअघि मोहनप्रसाद रेग्मी, विष्णुप्रसाद लामिछाने, आशा कोइराला, टेकबहादुर घर्ती मगर, धनमाया लामा, ललितकला गुरुङ, कृष्णचन्द्र नेपाली र चन्द्रबहादुर बुढा चयन हुनुभएको थियो । त्यस्तै सार्वजनिक लेखा समितिमा राजीव पहारी, प्रभा कोइराला र महेन्द्रबहादुर थकालीको नाम थप गरिएको छ । यसअघि उक्त समितिमा ओमकला गौतम, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, रामबहादुर गुरुङ, पियारी थापा, गायत्री गुरुङ, दीमाया रोक्का र प्रकाशचन्द्र दवाडी चयन भइसक्नुभएको छ ।

प्रदेश मामिला समितिमा जुनादेवी नेपाली, इन्द्रधारा विष्ट र रोशनबहादुर गाहा थापा, लक्ष्मी सुनार र मीना गुरुङको नाम थप गरिएको छ । सो समितिमा यसअघि चिन्तबहादुर घले, मनकुमारी गुरुङ, मधु अधिकारी, कोपिला बोहरा, दीपक थापा र मित्रकुमारी गुरुङ चयन हुनुभएको थियो । अर्थ तथा विकास समितिमा इन्द्रलाल सापकोटा, मीनप्रसाद गुरुङ, र पुष्पा केसीको नाम थप गरिएको छ । यसअघि उक्त समितिमा दीपक कोइराला, विनोद केसी, सरिता गुरुङ, दोबाटे विश्वकर्मा, भगवतप्रकाश मल्ल, कृष्ण थापा, जनकलाल श्रेष्ठ र हरिशरण आचार्य चयन हुनुभएको थियो । थप गरिएका नामलाई आजै प्रदेशसभाले सर्वसम्मत अनुमोदन गरेको छ । प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११.०० बजे बस्नेछ । (रासस)

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्