एशियन कप छनोटमा नेपाल यमनसँग भिड्दै
काठमाडौँ : एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलवार प्रतिद्वन्द्वी यमनको टोलीसंग सामना गर्ने भएको छ ।
कतारको दोहास्थित सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिगमा नेपालले विजय लक्ष्यका साथ यमनको सामना गर्नेछ । समूह ‘एफ’मा रहेको नेपाल भने यसअघि नै समूह चरणबाट बाहिरिइसकेको छ । नेपालको लागि उक्त खेल प्रतिष्ठाका लागिमात्र हुनेछ ।
यसअघि काठमाडौँमा भएको पहिलो यमनविरुद्धको लिगमा नेपालले गोलरहित बराबरी खेलेको थियो । छनोट चरणमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी र बाँकी खेलमा पराजित भएको थियो ।
नेपालकै समूहमा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन सात अंकसहित दोस्रो तथा समान सातअंक नै जोडेको ताजकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । दुई अंक मात्र जोडेको नेपाल अंक तालिकाको पुछारमा छ ।
नेपाली टोलीमा गोलकिपर बिकेश कुथु, किरण चेम्जोङ र एलन न्यौपाने, डिफेण्डरमा अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, आदित्य चौधरी, दिनेश राजवंशी र देवेन्द्र तामाङ छन् ।
त्यसैगरी मिडफिल्डरमा सुजल श्रेष्ठ, अञ्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर तथा स्ट्राइकरमा विमल घर्ती मगर, सुमन लामा, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की छन् ।