Logo
१० मंसिर २०८१, सोमबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करसम्बन्धी विवाद समाधान गर्न गृहकार्य शुरू

मुलुक सङ्घीय संरचना गएसँगै कतिपय प्रदेश तथा स्थानीय तहमा उक्त विषयमा आपसी विवाद देखिएपछि सङ्घीय सरकारले संवैधानिक प्रक्रियाअनुरूप विवाद समाधानका लागि गृहकार्य थालेको हो । अहिले सवारीसाधन कर, घरजग्गा रजिष्ट्रेशन करलगायत विषयमा विवाद देखिएको छ । सवारीसाधन कर प्रदेश र स्थानीय तह कसले उठाउने भन्ने विषयमा विवाद देखिएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ मा कुन कर कसले कसरी कर उठाउने भन्ने स्पष्ट उल्लेख छ । प्रदेश सरकारले ऐनमा भएको व्यवस्थाअनुसार सवारीसाधन करअन्तर्गत सङ्कलित रकमको २ प्रतिशत लिन खोजेपछि विवाद देखिएको हो । स्थानीय तह भने उक्त व्यवस्थाअनुसारको रकम दिन तयार छैन । स्थानीय तहले दोहोरो कर प्रणाली हटाई सवारीसाधन कर आफूले मात्र उठाउन पाउनुपर्ने माग राख्दै आएको छ ।
यस्तै घरजग्गा कर पनि कसले सङ्कलन गर्नेबारे विवाद चल्दै आएको छ । यस्ता विवाद अन्त्य गर्न सरकारले अन्तरसरकारी वित्तपरिषद् गठनको प्रक्रिया थालेको हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को परिच्छेद–९ मा यस्तो परिषद् गठनको व्यवस्था छ । वित्तीय हस्तान्तरणमा देखिएको समस्या र करसम्बन्धी विवादलाई उक्त परिषद्ले छलफलको माध्यमबाट हल गर्ने अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखाका प्रमुख हरिप्रसाद बस्यालले अभियानलाई बताए । उनले भने, ‘प्रदेश, स्थानीय तहबीच कर तथा बजेटको विषयमा देखिने सम्पूर्ण विवाद हल गर्ने अधिकार परिषद्लाई दिने संवैधानिक व्यवस्था छ ।’

सङ्घको अर्थमन्त्रीको अध्यक्षतामा गठन हुने परिषद्मा सातै प्रदेशका अर्थमन्त्री, वित्त विज्ञ र प्रदेशले मनोनीत गर्ने स्थानीय तहका जनप्रतिनिधि गरी २६ सदस्य रहनेछन् । चैत मसान्तसम्ममा परिषद्को बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि समितिले पूर्णता भने अझै पाएको छैन । प्रदेश सरकारले पूर्णता नपाउँदा परिषद् गठनमा समस्या परेको महाशाखा प्रमुख बस्यालको भनाइ छ ।

उनले भने, ‘कतिपय प्रदेशमा अर्थमन्त्री नै आएका छैनन्, त्यसैले गर्दा परिषद्लाई पूर्णता दिन सकस परेको छ ।’ संवैधानिक व्यवस्थाअनुसार परिषद्ले कर, वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँटमा एक प्रदेश र अर्को प्रदेशबीच देखिने समस्या छलफलको माध्यमबाट टुङ्गाउनुपर्छ ।

त्यस्तै, स्थानीय निकायबीच विवाद देखिँदा परिषद्ले समाधान गर्नुपर्ने हुन्छ । बस्यालले भने, ‘वित्तीय सङ्घीयता विशेषतः सहकार्य, सहकारिता र सहअस्तित्वका आधारमा बनाइएको छ । उत्पन्न विवादहरूले परिषद्ले सबैको अस्तित्व कायम राख्ने गरी समाधान गर्नुपर्ने हुन्छ ।’ अभियानका अनुशार, संविधानमा परिषद्लाई तीनै तह हेर्ने अधिकार प्रत्यायोजन गरेको छ । अन्तरसरकारी ऐनले करको दायरालाई फराकिलो पारे पनि स्पष्ट हुन नसकेका दायरालाई परिषद्ले स्पष्ट पार्नुपर्ने दायित्व रहेको महाशाखा प्रमुख बस्यालले अभियानलाई बताए ।

सरकारले यसअघि प्रदेश तथा स्थानीय तहको राजस्वको अधिकार, राजस्व बाँडफाँट, अनुदान, ऋण, बजेट व्यवस्थापन, वित्तीय अनुशासन कायम गर्नका निम्ति ऐन ल्याएको थियो । ऐनले प्रदेशलाई कर तथा गैरकरअन्तर्गत मनोरञ्जन, घरजग्गा, सवारीसाधन, विज्ञापन, कृषि आयमा कर लगाउन सक्ने अधिकार प्रत्यायोजन गरिसकेको छ । यस्तै प्रदेशहरूले गैर करअन्तर्गत पर्यटक, दण्ड जरीवाना, सेवा शुल्क लिनसक्ने व्यवस्था गरिसकेको छ । स्थानीय तहलाई सम्पत्ति करदेखि व्यवसाय करसम्म लिन पाउने अधिकार दिइएको छ । -विजय दमासे

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्