राजधानी जनकपुरलाई सौन्दर्यकरण गर्न भत्काइयो मेयरकै घर
जनकपुरधाम : प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा अव्यवस्थित रुपले बनाईएका घर भत्काउन सुरु गरिएको छ । एकीकृत शहरी विकास आयोजना अन्तर्गत सडक विस्तारका लागि जनकपुरधामको शिव चोकदेखि भानु चोकसम्म सडक छेउमा बनाईएका घर भत्काउन थालिएको हो ।
पटक पटक सार्वजनिक सूचना जारी गरेपनि घरधनीले अटेर गरेपछि उपमहानगरपालिकाले स्काभेटर लगाएर भत्काउन सुरु गरेको हो । उपमहानगरले शनिबारदेखि स्काभेटर लगाएपछि कतिपय घरधनी आफैले घर भत्काउन सुरु गरेका छन् । यसअघि उपमहानगरले सूचना जारी गरी घरधनी आफैँले सडक छेउमा बनाएका घर नभत्काए क्षतिपुर्ति नदिनुको साथै घर भत्काउनका लागि लाग्ने शुल्क समेत घरधनीबाटै असुल गर्ने जनाएको थियो ।
उपमहानगरका प्रमुख लालकिशोर साहको घर समेत सडकमा परेको छ । प्रमुख स्वयंले आफ्नो घर भत्काएर सडक विस्तार सुरु गरेका थिए । जनक चोकदेखी भानु चोक सम्म २९ फिट रहेको सडकलाई साढे ५२ फिट चौडाईको बनाउन लागिएको छ ।