Logo
२७ पुस २०८१, शनिबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस बैठक जारी : देउवाविरुद्ध सिंह, सिटौला र थापा आक्रामक

काठमाडौँ : नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहेको छ । हिजोदेखि सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाको तीव्र आलोचना भएको छ । आजको बैठकमा युवा नेताले नेतृत्व परिवर्तनको बहसलाई तीव्रता दिने तयारी गरेका छन् । हिजो साँझ गोप्य छलफलमा समेत जुटेका काँग्रेस युवा नेताले नेतृत्व परिवर्तन भएमात्र काँग्रेसको आगामी भविष्य उज्ववल रहने निष्कर्ष निकालेका छन् ।

गगन थापा, धनराज गुरुङ, गुरु घिमिरे लगायतका नेताहरुले चुनावी पराजयमा नेतृत्वको कमजोरी रहेको निष्कर्ष समेत निकालेका छन् । आजको बैठकमा काँग्रेसको पराजयमा नेतृत्वको भूमिकाबारे प्रश्न गरिने एक युवा नेताले बताए । उनका अनुसार अबको काँग्रेस चुनौतीले भरिएको भन्दै त्यसका लागि सक्षम नेतृत्व आवश्यक रहेको युवा नेताहरुको निष्कर्ष रहेको छ । यता सभापति देउवा विरुद्ध संस्थापन इतरका नेताहरु सक्रिय बनेको भन्दै संस्थापन पक्षले प्रतिरोध गर्ने तयारी समेत गरेको छ । केन्द्रीय समितिमा संस्थापन पक्षको बाहुल्यता रहेको छ ।

यस्तो छ प्रकाशमान सिंहको लिखित सुझाबपत्र

पूर्वमहामन्त्री सिंहले बैठकमा ‘सुझाब एवं प्रस्ताव’ भन्दै आठ पृष्ठ लामो लिखित प्रस्ताव बाँडे । ३५ मिनेट लामो धारणा राखेपछि उनले प्रस्ताव केन्द्रीय सदस्यहरूलाई बाँडे । केन्द्र र प्रदेशमा सरकार बनाउने गणित कतै नभएको, महाअभियोग र अविश्वासको प्रस्ताव राख्न सक्ने वैधानिक हैसियतसमेत पार्टीको नभएकोलगायतका विवरण प्रस्तुत गर्दै उनले जनताले दिएको निर्मम दण्डबारे गहिरो आत्मसमीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

माओवादीसँग आलोपालो सरकार र भरतपुर महानगरपालिकामा माओवादीसँग तालमेलले सभापति सत्तास्वार्थमा फसेको पुष्टि भएको सिंहको आरोप छ । उनले नाकाबन्दी खेपेको केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रचण्डजस्तो धोखेबाज नेतासँग मिलेर उनैलाई प्रधानमन्त्री बनाउनाले पार्टी अहिलेको हविगतमा पुगेको बताए । पार्टी नेतृत्वले विधान लत्याएको र भागबन्डाको संस्थागत विकास गरेको आरोप लगाउँदै अब विधानअनुसारका पदाधिकारी थप्ने औचित्य सकिएकोले छिटो महाधिवेशनमा जानुपर्ने सिंहले सुझाएका छन् ।

एकले अर्कोलाई हेर्दै
तीन नेता बोलेपछि भीष्मराज आङदेम्बे र नवीन्द्रराज जोशीलाई समय दिइएको थियो । तर, उनीहरू दुवै बैठकमा थिएनन् । पहिलो दिनको बैठक यत्तिकैमा सकियो । खासगरी संस्थापन पक्ष अर्को पक्षले पहिले बोलोस् र अर्को पक्ष संस्थापन पक्षले बोलेपछि जवाफ दिने ‘मुड’मा देखिन्छ । यसकारण पनि तीनजनाबाहेक अरु सदस्य बोल्न अग्रसर नभएको केन्द्रीय सदस्य गुरु घिमिरेले बताए । ‘ तीन नेता बोलेपछि डाकिएका आङदेम्बे र जोशी देखिनुभएन ।

अरू नेता पनि बोल्न अग्रसर भएनन्,’ घिमिरेले भने, ‘चुनावी समीक्षा भएकोले पहिले कसरी प्रस्तुत हुने भन्नेमा दुवै पक्षले एकले अर्कोलाई हेरेको देखियो ।’ पौडेल र सिटौला पक्ष मिलेर संस्थापनविरुद्ध आक्रामक बन्ने रणनीतिमा छ । तर, संस्थापन पक्ष पार्टीभित्र अर्को पक्षका अनुशासन, निर्वाचनका वेला देखाएको निष्क्रियतालाई निर्वाचन परिणामसँग दाँज्ने तयारीमा छ ।

पौडेल र सिटौला पक्षको एउटै लिखित प्रस्ताव आउने
पौडेल पक्षका नवीन्द्रराज जोशी र सिटौला पक्षका युवा नेताहरूको संयुक्त प्रस्ताव ल्याउँदै छन् । निर्वाचनमा पार्टी पराजय हुनुका कारण तथा अब के गर्ने भन्ने दुई खण्ड समेटेर दुई पक्षले संयुक्त लिखित प्रस्ताव ल्याउने तयारी गरेका हुन् । एउटै प्रस्ताव तयार गर्नका लागि शुक्रबार बैठक सकेपछि दुवै पक्षका नेताहरू अबेरसम्मै छलफलमा जुटेका थिए । पहिलो खण्डमा सरकारमा गएर प्रभावकारी काम गर्न नसकेको, सरकारका विशेषाधिकारयुक्त निर्णयलाई पुष्टि गर्न नसकेको विषय उल्लेख छन् । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउनु र फिर्ता लिनु, आइजिपी प्रकरण तथा राजदूत नियुक्तिमा पार्टी र सरकारले उचित जवाफ दिन नसक्दा निर्वाचनमा खराब नतिजा आएको विषय पनि समेटिएको छ ।

निर्वाचनमा लोकतान्त्रिक गठबन्धन नाम मात्रैको भएको, पार्टीका आन्तरिक संरचनाले काम नगरेको, भ्रातृ संस्थाहरू चुनावमा परिचालन नभएको, टिकट वितरण न्यायपूर्ण नभएको, नारा, घोषणापत्र घोषणामै सीमित भएको विषयलाई उनीहरूले हारका कारणका रूपमा प्रस्तुत गरेका छन् ।  पौडेल र सिटौला पक्षले अब के गर्ने भन्ने निकाससहितको प्रस्ताव पनि गर्दै छन् । दुई कम्युनिस्ट एक हुँदा कांग्रेस चुनौतीले घेरिएको भन्दै उनीहरूले पार्टी ‘रेस्क्यु’ गर्नुपर्ने ठाउँमा रहेको विषय उठाउँदै छन् ।

‘संसद्मा हामी खुम्चिएका छौँ प्रतिस्पर्धी कम्युनिस्ट पार्टी छ । उनीहरू धेरै बलिया छन्, अब कस्तो रणनीति ल्याउने ? उनीहरूको ५० र हामी ३५ प्रतिशत जति छौँ,’ घिमिरेले भने, ‘जनतासँगको सम्बन्ध पातलो भयो । कमजोर भयो । यसकारण हामी ०१५ पछिका निर्वाचनमा बहुमत ल्याएर पनि लगत्तैको निर्वाचनमा पछि किन पर्‍यौँ ? यो जनतासँग पातलिएको सम्बन्धनले नै हो भन्ने हाम्रो मान्यता छ ।’

जनताले अवसर दिँदा केही गर्न नसकेको जस्ता विषयबाट अब उठ्ने गरी महासमितिबाट युवा नेताहरूको एउटै पार्टीलाई जागरूक, क्रियाशील बनाउन, विधान संशोधन गर्नुपर्ने, संसद्मा खुम्चिए पनि वाम दलसँग वैचारिक र सैद्धान्तिक रूपमा सामना गर्ने गरी पार्टीका कार्यक्रम ल्याउनुपर्ने माग गर्दै छन् । आज भीष्मराज आङदेम्बे, नवीन्द्रराज, चित्रलेखा, सुरेन्द्र पाण्डे, मीन विश्वकर्मा, गगन थापा, धनराज गुरुङ, रामकृष्ण यादवसहितका नेताले बोल्ने तयारी गरेका छन् ।

पराजयको जिम्मा सभापतिले लिनुपर्छ
देउवाले खुलेर कुरा राख्न अनुमति दिएलगत्तै रामचन्द्र पौडेल पक्षका नेता प्रकाशमान सिंह बोल्न सुरु गरे । ‘पार्टीलाई हामीले जुन स्थानमा जिताउन सक्नुपर्ने हो, सकेनौँ । चुनावमा पार्टीको पराजयको भागिदार सभापति हुनुहुन्छ, यसको नैतिक जिम्मेवारी उहाँले लिनुपर्छ,’ ३५ मिनेट लामो भाषणमा सिंहले भने, ‘सुशीलजी (सुशील कोइराला) प्रधानमन्त्रीको उम्मेदवार भएदेखि कांग्रेसको डाउनफल सुरु भयो ।

पछि सभापति देउवाजी प्रधानमन्त्री बनेर गोवामा निर्वासित तिब्बती प्रधानमन्त्रीलाई भेट्नु, कोलम्बिया युनिभर्सिटीमा फितलो प्रस्तुति दिनु, साझा सवालमा लज्जास्पद प्रस्तुति दिनु, चितवनमा माओवादीसँग एलायन्स गर्नु र प्रचण्डकै नेतृत्वमा चुनावमा नजानुका कारण पार्टी कमजोर भयो ।’

सानो पार्टी सभापतिको कब्जामा, देश वामको कब्जामा : सिटौला
सिंहपछि कृष्णप्रसाद सिटौला देउवाविरुद्ध उत्रिए । उनले सुशील कोइरालालाई दोस्रोपटक प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि पार्टीमा विचलन र स्खलन सुरु भएको तर्क गरे । ‘हामी चुनावसम्म आइपुग्दा झन् बिग्रियौँ । टिकट वितरणमा नातावाद, कृपावादले परिणाममा क्षति पुग्यो । समानुपातिकको लिस्ट बनाउँदा हामीलाई हेर्नै दिइएन । सभापतिले एकलौटी गर्नुभयो । रामचन्द्रजीले साथ दिनुभयो,’ देउवासँगै पौडलको पनि गल्ती कोट्याउँदै उनले अगाडि भने, ‘राप्रपाजस्तो दक्षिणपन्थी पार्टीलाई सरकारमा ल्यायौँ, यो अर्को गल्ती थियो ।

पार्टीलाई क्षति गरायो । लोकतान्त्रिक गठबन्धन अर्को गलत कदम थियो । महन्थले हाम्रो सहयोगले जित्नुभयो, तर उहाँहरूकै कारण विमलेन्द्रजीले हार्नुभयो । हिजो नाकाबन्दी गर्नेहरू आज केपी ओलीजीका प्रिय भए । तर, हामीले नाकाबन्दीसमेत भन्ने आँट गरेनौँ । मैले व्यक्तिगत रूपमा नाकाबन्दी भनेँ, तर पार्टीले भन्न सकेन ।’

उनले कार्यसम्पादन समिति र संसदीय बोर्ड विधानविपरीत गठन गरिएको भन्दै भंग गर्नुपर्ने माग गरे । यही तरिकाले नेतृत्व हिँडे पार्टी झन् सानो बन्ने उनको भनाइ थियो । ‘यही तरिकाले जानुभयो भने पार्टी झन् सानो–सानो बन्दै जान्छ र यही पार्टी तपाईं (सभापति)ले कब्जा गर्नुहोला, तर देश वाम गठबन्धनले कब्जा गर्छ,’ सिटौलाले भने ।

पटक–पटक सरकारमा बस्ने अवसर पाएर पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको उनले बताए । उनले पटक–पटक अर्थमन्त्री बनेर पनि किसान, मजदुर र खाडी मुलुकमा जानेहरूका लागि कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको भन्दै रामशरण महतको पनि आलोचना गरे । ‘किसानका लागि, मजदुरका लागि, खाडी मुलुकमा जानेहरूका लागि कार्यक्रम ल्याउन सकेनौँ, अनि हामीलाई किन जनताले भोट दिने ? जनताले किन पत्याउने ?,’ सिटौलाले प्रश्न गरे । उनले विधानअनुसार पार्टी नहिँडे अराजकता मौलाउने बताए ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्