खारेज भएको म्यानपावरले तीनसय युवा ठगेपछि ‘उत्पात’ !
काठमाडौं : वैदेशिक रोजगार विभागबाट खारेजीमा परेको ‘बजाज ओभरसिज’ नामक म्यानपावरको नाममा वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवाहरूलाई ठगी गरिएका पाइएको छ ।
उक्त म्यानपावरको सञ्चालक भएको बताउने प्रेम सिंह भनिने रामेश्वर सिंहले करिब ३ सय जना युवाहरूसँग ५० हजार देखि १ लाख ६० हजार सम्म असुलेर ठगी गरेको हो ।
सिंहलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभागमा पठाएको छ । सिंह लगायतको समूहले त्यसरी ठगी गर्ने गरेको छ । विभागका महानिर्देशक भुवन आचार्यका अनुसार अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार पीडित कृष्णबहादुर बनले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि सिंहलाई पक्राउ गर्न विभागले गत ५ गते प्रहरीलाई पक्राउ पुर्जी कोटेको थियो । उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले सर्लाहीको हरिवनबाट पक्राउ गरेको थियो ।
बनले आफूलाई कुवेतमा सेक्युरिटि गार्डको काममा पठाइदिने भन्दै रकम असुलेर ठगी गरेको भन्दै दिएको उजुरीको आधारमा सिंह पक्राउ परेपछि उक्त समूहबाट ठगीने अन्य २५/३० जना युवाहरू विभाग पुगेका थिए । प्रभावका अनुशार, उक्त समूहले राजधानीको मित्रपार्कमा आफ्नो कार्यालय रहेको भनि वैदेशिक रोजगारीमा जान चाहने युवाहरूसँग रकम असुल्ने गरेको बताइएको छ ।
मित्रपार्कको उक्त घरमा मुलबाटोको पछाडी पट्टि उक्त म्यानपावरको होडिङ बार्ड झुन्ड्याएर उनीहरूले ठगी धन्दा चलाइरहेको बताइएको छ । उक्त म्यानपावर करिब ८ वर्ष पहिले नै खारेजीमा परेको बताइएको छ ।