माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरबाट सञ्चालन गर्ने तयारी
काठमाडौं : एसईई प्रदेशस्तरबाट सञ्चालन गर्ने तयारी गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रबाट सञ्चालन भइरहेकोमा आगामी वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डले एसईई प्रदेशस्तरबाट सञ्चालन गर्ने तयारी गरेको हो । यससँगै आगामी वर्षदेखि एसईई परीक्षा ७ वटै प्रदेशबाट सञ्चालन हुनेछ ।
नेपालको शैक्षिक इतिहासमा ८२ वर्षपछि प्रवेशीका परीक्षा (एसएलसी) को अन्त्य भई ०७३ देखि नाम परिवर्तन भई माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरुवात भएको थियो । हालसम्म केन्द्रबाट हुँदै आएको एसईई यो अन्तिम वर्ष हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अर्को वर्षदेखि एसईईको सञ्चालनदेखि सम्पूर्ण जिम्मेवारी प्रदेशस्तमा गरिने जानकारी दिए ।
वि.सं. १०९० सालदेखि नेपालमा एसएलसी सुरु भएको थियो । एसएलसी सुरु भएको ८३ औं वर्ष २०७३ देखि भने माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । गत वर्षदेखि अक्षराङ्क प्रणालीबाट परीक्षाफल प्रकाशित हुँदै आएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईईको तयारी पूरा भएको जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ ।
प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । काठमाडौं उपत्यका र बाहिर विभिन्न जिल्लाको क्लस्टरअनुसार परीक्षामा सहभागी विद्यार्थीको प्रश्नपत्र फरकफरक हुनेछ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस वर्ष १ हजार ९ सय ५६ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा कायम गरिएको छ ।