Logo
३० कार्तिक २०८१, शुक्रबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपराष्ट्रपति पुनलाई पाकिस्तान र बंगलादेशको बधाई

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुनलाई पाकिस्तान र बंगलादेशले बधाई दिएका छन् । आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेद र बंगलादेशका राजदूत माम्सी बिन्टे शाम्सले उपराष्ट्रपतिलाई छुट्टाछुट्टै बधाई तथा शुभकामना दिनुभएको हो ।

उपराष्ट्रपतिले पाकिस्तानी राजदूतसँगको भेटमा आफूलाई बधाई दिएकामा पाकिस्तान सरकार, पाकिस्तानी जनता र नेपालका लागि पाकिस्तानी राजदूतलाई धन्यवाद दिनुभयो । संविधान कार्यान्वयनको क्रममा नेपालमा सबै प्रकारका निर्वाचन सम्पन्न भएकोले नेपाल आर्थिक समृद्धि, विकास र सामाजिक रुपान्तरणको युगमा प्रवेश गरेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

उहाँले नेपाल र पाकिस्तान सम्बन्ध समधुर रहेको बताउनुहुँदै दुई देशले भोगिरहेका समस्यामा सहकार्य गर्नुपर्ने बताउनुभयो । उपराष्ट्रपतिले पाकिस्तानले छिट्टै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनको आयोजना गर्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो ।

सो अवसरमा पाकिस्तानका राजदूत जावेदले उपराष्ट्रपतिमा पुनः निर्वाचित भएकामा उपराष्ट्रपतिलाई पाकिस्तान सरकारका तर्फबाट बधाई दिनुभयो । भेटमा पाकिस्तानी राजदूतले नेपाल पाकिस्तानको सहकार्य धेरै क्षेत्र रहेको बताउनुभयो । उहाँले नेपालसँगको हरेक सहकार्यमा पाकिस्तान अत्यन्त खुशी रहेको बताउनुभयो । केही समयअगाडि भएको पाकिस्तानका प्रधानमन्मन्त्रीको नेपाल भ्रमणले दुई देशबीचका सम्बन्ध अझै घनिष्ट बनाएको उल्लेख गर्नुहुँदै दुई देशबीच उच्चस्तरीय भ्रमण जारी राख्नुपर्ने बताउनुभयो ।

यसैगरी बंगलादेशका राजदूतसँगको भेटमा उपराष्ट्रपति पुनले दुई देशको सम्बन्ध अत्यन्त घनिष्ठ भएको उल्लेख गर्नुहुँदै अझै प्रगाढ बनाउनुपर्ने बताउनुभयो । उहाँले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।

भेटमा बंगलादेशका राजदूतले उपराष्ट्रपतिमा पुनः निर्वाचित भएकामा बंगलादेश सरकारका तर्फबाट बधाई दिनुभयो । उहाँले त्रिभुवन विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना हुँदा उद्धार र घाइतेको उपचारमा नेपालले उच्चस्तरीय प्रबन्ध मिलाएको बताउनुहुँदै धन्यवाद दिनुभएको थियो । (रासस)

उपराष्ट्रपति नन्दबहादुर पुनसँग मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भेट गर्नुहुँदै नेपालका लागि बंगलादेशका राजदूत मासफी बिन्टे शाम्स । तस्वीर सौजन्य : उपराष्ट्रपतिको स्वकीय सचिवालय

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्