प्रहरीलाई धम्की दिने एआइजी पुत्र रिहा, उल्टै कुटपिट गरेको भन्दै उजुरी
काठमाडौं : शुक्रबार मध्यरातमा रक्सीले मात्तिएका ४ जना युवाले ठमेलमा ट्याक्सीसँग ‘वार्गेनिङ’ गरिरहेका थिए। उनीहरुको ‘बार्गेनिङ’ नमिलेपछि ट्याक्सीचालकलाई कुटपिट गर्न तम्सिए। चालकले प्रहरीलाई खबर गर्यो। त्यहाँ पुगेका प्रहरीले उनीहरुलाई सम्झाउन खोजे। तर उनीहरुले प्रहरीलाई टेरेनन्। उल्टै त्यस मध्येका एक युवाले प्रहरीलाई धम्काए। समूहका एक युवाले सुरक्षामा खटिएका प्रहरीलाई ‘तिमीहरु जस्ता त मेरो घरमा भात पकाउँछन्’ भन्दै प्रहरीलाई धम्की दिएको प्रहरी स्रोतले बतायो।
बमले सुरक्षामा खटिएका प्रहरीलाई ‘तिमीहरु जस्ता त मेरो घरमा भात पकाउँछन्’ भन्दै प्रहरीलाई धम्की दिएका थिए।
प्रहरीसँग पनि उग्ररुपमा प्रस्तुत भएका ति युवालाई प्रहरीले नियन्त्रणमा लिन खोज्यो। नियन्त्रणमा लिन खोज्दा उनी झनै आक्रामक भए। त्यसपछि बल प्रयोग गरेर भ्यानमा राखेर उनलाई प्रहरी वृत्त दरवारमार्ग ल्याइयो। उनलाई दरवारमार्ग वृत्तमा ल्याएपछि उनी प्रदेश नम्बर ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमको छोरा सुगम बम भएको खुल्यो। बैंगलोरमा अध्ययन गरेर भर्खरै स्वदेश फर्केका सुगम साथीहरुसँग रमाइलो गर्ने भन्दै शुक्रबार ठमेल पुगेका थिए। बिहान प्रहरीले उनको परिवारलाई खबर गर्यो। त्यपछि प्रहरी वृत्त दरवारमार्ग पुगेकी उनकी आमाले ‘अब आइन्दा यस्तो नगर्ने’ भन्दै छोरालाई छुटाएर लगिन्।
उनी छुटेपछि घटना त्यत्तिकैमा सकिएन। प्रहरी वृत्तबाट छुटेका सुगमले आफुमाथी प्रहरीले कुटपिट गरेको भन्दै उनले प्रहरीको उजुरी छानविन शाखामा उजुरी दिए। उजुरी पछि प्रहरीले घटनाको छानविन गर्न एसएसपी रामकृपाल शाहको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। घटनाबारे छानबिन समिति बनाइएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए। ‘कुटपिट गर्ने अधिकार कसैलाई छैन’, ‘घटनाको सत्यतथ्य छानविन हुन्छ। दोषीलाई कारबाही हुन्छ।’