एमाले र माओवादीका सांसदको संयुक्त भेला, ओली र प्रचण्डले प्रशिक्षण दिने
काठमाठौं : नयाँ सांसदप्रति लक्षित गरी एमाले र माओवादीका सांसदको आज संयुक्त भेला बोलाइएको छ । संयुक्तमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा आफ्ना सांसदलाई प्रशिक्षण दिने भएका छन् । शनिबार बिहान नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उनीहरुको संयुक्त बैठक तथा प्रशिक्षण हुनेछ ।
यी दुई पार्टीवीच पार्टी एकताका लागि भन्दै सात बुँदे आधारपत्रमा सहमति भएको छ । प्रतिनिधिसभामा एमालेका १ सय २१ जना, राष्ट्रिय सभामा २७ जना सदस्य छन् । यस्तै, माओवादी केन्द्रका प्रतिनिधिसभामा ५३ जना र राष्ट्रिय सभामा १३ सदस्य छन् । एमाले र माओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई पार्टीको वैचारिक लाइनसँगै संसद्को प्राविधिक पक्षका प्रशिक्षण दिने तयारी छ ।
ओली–प्रचण्डले यसअघि निर्वाचनमा चुनावी प्रचारसँगै घोषणापत्र सार्वजनिक गरेका थिए । संसद्मा कसरी प्रस्तुत हुने, शून्य समयमा के गर्ने, बैठकमा एजेन्डाहरू कसरी प्रस्तुत गर्नेलगायत प्राविधिक विषयमा प्रशिक्षण दिने तयारी भएको एक सांसदले बताए ।