Logo
४ आश्विन २०८१, शुक्रबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस पार्टीले परिवर्तन खोजेको छ : नेता सिटौला

काठमाडौँ : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस पार्टीले परिवर्तन खोजेको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले शसक्रबार नेपालटारमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र नेपाली काँग्रेसको भूमिका’ विचार गोष्ठीमा उनले परिवर्तित समयसँगै काँग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुने बताए। ‘काँग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनु आवश्यक छ’, उनले भने, ।

नेता सिटौलाले काँग्रेसको निर्वाचनमा नीतिगत, रणनीतिगत, निर्णायक, व्यावहारिक पक्षमा गम्भीर त्रुटि भएका कारण पराजित हुनुपरेको बताए । उनले काँग्रेसभित्र वैचारिक बहस चलाउनुपर्ने बेला आएको र कम्युनिष्टहरु सरकारमा हुँदा आफ्ना लागि काम गर्ने तर राष्ट्रका लागि काम नगर्ने प्रवृत्ति भएको आरोपसमेत लगाए । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस कमजोर मनोविज्ञानका साथ निर्वाचनमा जाँदा कमजोर नतिजा ल्याएको बताए ।

नेता पौडेलले चार पटक प्रधानमन्त्री भएका काँग्रेसका सभापतिलाई प्रधानमन्त्री नहुने अवस्थामा किन संसदीय दलको नेता बन्नुप¥यो भनी प्रश्न गरे । ‘काँग्रेस हराउन काँग्रेस तयार हुन्छ तर काँग्रेस जिताउन काँग्रेस किन तयार हुँदैन’, उनको प्रश्न थियो ।

काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले आमजनताबीच काँग्रेसप्रति हिनताबोध हुँदै गएको भन्दै पार्टी पराजयबारे काँग्रेसभित्र गम्भीर समीक्षा आवश्यक रहेको बताए । “सत्तरी वर्ष नाघेका व्यक्ति पार्टी संसदीय दलको नेतामा लड्नु हुँदैन, नयाँलाई अवसर दिनुपर्छ”, उनले भने, ।

प्रदेश सांसद जीवन डंगोल, क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, क्षेत्रीय सचिव एवं काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्याम तिवारीलगायतले इमान्दार कार्यकर्ताको हातमा पार्टी नपुगेसम्म काँग्रेसले पुनर्जीवन पाउन नसक्ने बताए ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्