Logo
४ आश्विन २०८१, शुक्रबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीपछि सरकारको दोस्रो वरियतामा रक्षामन्त्री ईश्वर पोखरेल रहने

काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको दोस्रो वरियता सहित रक्षामन्त्री बनेका छन् ।अर्थमन्त्रीको चर्चामा रहेका पोखरेल अन्तिम समयमा रक्षामन्त्री बनेका हुन् । २०५१ सालमा तत्कालिन एमालेका महासचिव माधवकुमार नेपाल पनि प्रधानमन्त्रीपछिको दोस्रो वरियतासहित रक्षा र परराष्ट्रमन्त्री भएका थिए । रक्षामन्त्री अलग्गै रहने प्रणाली एमालेले २०५१ बाट सुरु गरेको हो । त्यसअघि प्रधानमन्त्रीनै रक्षामन्त्री रहने प्रचलन थियो ।

उच्च स्रोतका अनुसार एमालेबाट महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडा तथा माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादव मन्त्री बन्ने भएका छन् । चारै मन्त्रीको शपथ साँझ शीतल निवासमा तय भएको छ । एमालेमा अर्थ र माओवादी केन्द्रमा गृह मन्त्रालयको तानातान बढी भएपछि व्यवस्थापन पेचिलो बनेको छ । सोमबार थप भएका मन्त्रीहरुको मन्त्रालय भने गोप्य राखिएको छ ।

स्रोतका अनुसार पोखरेललाई रक्षा, खतिवडालाई अर्थ, थापालाई गृह र यादवलाई वन मन्त्रालयको जिम्मा दिने तयारी भएको छ ।  राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने तयारी भए पनि सर्वोच्चले खतिवडाको शपथ रोक्न आदेश दिइसकेको छ । तर, तत्काललाई मन्त्री बन्न खतिवडालाई कानुनले रोक्दैन । मन्त्री भएको ६ महिनाभित्र खतिवडा संघीय संसद (प्रतिनिधि वा राष्ट्रिय सभा)को सदस्य भइसक्नुपर्छ ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्