श्रीदेवीको शव अंबानीको निजी विमानमा स्वदेश आउदै
मुम्बइ : बलिउड अभिनेत्री श्रीदेवीको पार्थिव शरीर आज सोमबार मात्र मुम्बइ आउने भएको छ । पार्थिव शरीर अनिल अम्बानीको निजी विमानमा स्वदेश आउने बताइएको छ । सोमबार दिउँसो १ बजे मुम्बइ जुहूको मुक्तिधाममा उनको अन्तिम संस्कार गरिनेछ । उनको कार्डिएक अरेस्टका कारण शनिबार राती दुबईमा मृत्यु भएको थियो । ५४ वर्षकी श्रीदेवीको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुले शोक जनाएका थिए ।
श्रीदेवी पति बोनी कपुर, छोरी खुसीसँग आफ्ना भान्जा मोहित मारवाहको बिहेमा सहभागी हुन उनी दुबइ पुगेकी थिइन् । हृदयाघातका कारण उनको निधन भएपछि उनको शवलाई दुबइको अल घुसैसको मुर्दाघरमा राखिएको थियो । उनको यहीँ पोष्टमार्टम गरियो ।
श्रीदेवीको शरीर भारत ल्याउनका लागि अम्बानीले आफ्नो निजी विमान दिने प्रस्ताव आफैं गरेका थिए । शव ल्याउनका लागि औपचारिकताको काममा ढिलाइ हुँदा शव आजमात्र भारत आउने बताइएको छ ।