मुख्यमन्त्री राउतद्धारा ११ बुँदे प्रतिबद्धता सार्वजनिक
जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रतिबद्धताको पहिलो बुँदामा प्रदेशभित्र पूर्ण रुपमा सुशासन कायम गर्दै भ्रष्टाचारविरुद्ध शून्य सशनशीलता अपनाइने उल्लेख छ । मुख्यमन्त्री राउतले नीतिगत रुपमा गरिने भ्रष्टाचार स्वीकार्य नहुने बताउँदै प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती नसहने बताएका छन् ।
उनले प्रदेशका सेवाग्राही जनतालाई सरकारी कर्मचारीले २४ घण्टाभित्र काम पूरा गर्नुपर्ने र पूरा हुन नसक्ने कामको न्यायोचित कारण सेवाग्राहीलाई दिनुपर्ने उल्लेख गरेका छन् । प्रदेशका जनताले इमेल र विद्युतीय माध्यमबाट आफ्ना गुनासा मुख्यमन्त्रीकोक्ष कार्यालयमा टिपाउन सक्ने र जनताको गुनासोमा तत्काल कारबाही गरिने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाएका छन् ।
मुख्यमन्त्रीले सार्वनजिक गरेको प्रतिबद्धतामा प्रदेशको कालाबजारी र महँगी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गरिने उल्लेख छ । यसैगरी उनले अनियन्त्रित र अवैध रुपमा भइरहेको मदिरा बेचबिखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रण गर्ने जनाएका छन् । त्यस्तै, वन्यजन्तु तस्करी, प्राकृतिक स्रोत साधनको दोहन र वन फडानी कार्यलाई तत्काल रोकिने प्रतिबद्धता मुख्यमन्त्रीले गरेका छन् ।