Logo
२२ कार्तिक २०८१, बिहीबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिन : सोमबारदेखि चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो पूर्ण बैठक 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को १९ औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सोमबारदेखि बेइजिङमा सुरु हुँदैछ । बैठकले १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको नेतृत्व तथा महत्वपूर्ण विधेयकहरुको तर्जुमा गर्नेछ । सीपीसीका पूर्ण बैठकहरु निकै महत्वपूर्ण मानिन्छन् । राष्ट्रिय नीति निर्धाण गर्न, नेतृत्व चयन गर्न, महत्वपूर्ण परिपाटी लागू गर्न तथा ठूला निर्णय गर्नका लागि पूर्ण बैठकको आयोजना हुने गर्दछ ।

‘प्लेनरी सेसन’ भनिने पूर्ण बैठक सीपीसीको महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली अंग मानिन्छ । यसमा केन्द्रीय सदस्य, केन्द्रीय वैकल्पिक सदस्य, केन्द्रीय अनुशासन आयोगका सदस्यहरु र केन्द्रीय कार्य विभाग तथा संगठन विभागका पदाधिकारीहरु सहभागी हुन्छन् । उक्त बैठकले नेतृत्वदायी पदहरुमा नयाँ व्यक्तिहरुलाई समेत चयन गर्नेछ । सीपीसीले यसअघि नै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीमा सी चिनफिङ र ली खछ्याङलाई दोहोर्‍याउने निर्णय गरिसकेको छ ।

बैठकले १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको अध्यक्ष, उपाध्यक्ष चयन गर्नेछ भने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३ औँ राष्ट्रिय समितिको अध्यक्ष पनि तोक्नेछ । त्यसैगरी उपराष्ट्रपति र उपप्रधानमन्त्रीहरु पनि यही बैठकले निश्चित गर्नेछ । यी पदहरु औपचारिक रुपमा आगामी मार्च ५ तारिख सुरु हुने १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनले पारित गरेपछि लागू हुनेछन् ।

१९ औँ सीपीसीको शनिबार सम्पन्न केन्द्रीय पोलेटब्युरो बैठकले सोमबार सुरु हुने तेस्रो पूर्ण बैठकको मुख्य एजेण्डा संस्थागत पुनर्संरचना हुने जनाएको छ । सीपीसीको १९ औँ महाधिवेशनले संस्थागत पुनर्संरचना गर्ने नीति पारित गरेको थियो । जसअनुसार वर्तमान महासचिव सी चिनफिङ अझ शक्तिशाली बन्दै आएका छन् । सीपीसीका अधिकार र निर्णयहरु वर्तमान महासचिव सीमाथि केन्द्रित बनाउने अभ्यास सुरु भएको छ ।

शनिबार बेइजिङमा सम्पन्न १९ औँ सीपीसीको केन्द्रीय पोलिटब्युरो बैठकले गरेको निर्णयअनुसार तेस्रो पूर्ण बैठक बुधबारसम्म चल्नेछ । तेस्रो पूर्ण बैठकमा सीपीसीका २०३ केन्द्रीय सदस्य र १७२ वैकल्पिक सदस्यसँगै केन्द्रीय अनुशासन आयोगलगायत अन्य विभिन्न विभागका सदस्यहरु सहभागी हुनेछन् भन्दै कान्तिपुरमा समाचार छ ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्