सरकारले मन्त्रालय ‘मर्ज’ गराएपछि सिंहदरबारमा ‘भद्रगोल’ !
काठमाडौं : सरकारले हाल रहेका मन्त्रालयको संख्या आधा भन्दा बढी घटाएपछि सिंहदरबार ‘भद्रगोल’ बनेको छ ।
ती मन्त्रालयका सचिव, कर्मचारीहरू अब कता के गर्ने ? बारे अन्योलमा पर्दा सिंहरबार ‘भद्रगोल’ बन्न पुगेको हो । सरकारले गाभिएका मन्त्रालयमा परेका उच्च अधिकारीलाई अझैसम्म के गर्ने भन्नेबारे केही निर्णय गरेको छैन् । त्यस्तै सयौं करार कर्मचारीहरूको बारेमा समेत सरकार अनविज्ञ देखिन्छ । यसले गर्दा सिंहदरबार भित्र रहेका एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलयमा छन् भने, कर्मचारीहरु पनि झनै अन्योलमा परेका हुन् ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को यो निर्णयसँगै अब संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र १७ वटा मन्त्रालय मात्रै रहनेछन् । कुन मन्त्रालयमा कुन सेवा समूहका सचिव राख्ने सरकारले निक्र्योल गर्न सकेको छैन् ।
सरकारले गाभिएका मन्त्रालयका सचिवलाई फाजिलमा राख्दा मनोबल खस्कन सक्ने भन्दै तत्काल एकै मन्त्रालयमा तीन जनासम्म राख्ने गरी सचिवको व्यवस्थापन गर्न गृहकार्य अघि बढाएको बुभझिन्छ । तर, एउटै मन्त्रालयमा तीन जना सचिव राख्दा जिम्मेवारी र कार्यक्षेत्र विषयमा सचिवहरू बीचमै विवाद उत्पन्न भई मन्त्रालयको कामकाज नै प्रभावित हुने कतिपयको बुझाई रहेको छ ।