Logo
४ आश्विन २०८१, शुक्रबार
(February 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संरचनाअनुसार पार्टीको सांगठनिक संरचना बनाउने एमाले-माओवादीको निर्णय

काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संविधान प्रदत्त संघीय संरचनाअनुसार पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् । दुई दलको शनिबार बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकमा नेपालको संविधानअनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल शुरु गरेको छ ।

बैठकले यही फागुन २५ गतेभित्र कार्यदललाई तोकिएका काम सम्पन्न गर्न कार्यतालिका बनाएर अघि बढ्ने निर्णय गरेको छ । दुई पार्टीको संगठनात्मक अनुभव आदानप्रदानबाट कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए । बैठकमा एमाले र माओवादी केन्द्रका संगठनात्मक ढाँचा, अभ्यास तथा अनुभवका बारेमा एक अर्का पार्टीको जानकारी आदानप्रदान गर्ने काम भएको नेता विष्टले बताए ।

माओवादी केन्द्रका नेता रामबहादुर थापाको अध्यक्षतामा बसेको कार्यदलको बैठकले अन्तरिम विधान मस्यौदा तयार पार्दा निश्चित विधि र मापदण्ड अपनाउनेसमेत निर्णय गरेको छ। कार्यदलको अर्को बैठक फागुन १५ गते मंगलबार एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्नेछ । कार्यदलमा एमाले महासचिव ईश्वर पोखरेल, सचिव विष्ट, नेताहरु रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, बेदूराम भुसाल सदस्य छन् भने माओवादीका तर्फबाट नेता थापा, वर्षमान पुन, मातृका यादव, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा सदस्य छन् ।

एमाले र माओवादी केन्द्रले यही फागुन महिनाभित्रै एकता प्रक्रियालाई टुंगो लगाउने गरी आवश्यक तयारी गरेका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी एकताको आधार पूर्णरुपमा तयार पार्न कार्यदललाई यसअघि नै निर्देशन दिइसकेका छन् ।

प्रकाशित मिति: Feb 24, 2018

प्रतिक्रिया दिनुहोस्