Logo
२६ पुस २०८१, शुक्रबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबार सरकार विस्तार हुने, शपथ ग्रहण समारोहमा नै नाम सार्वजनिक : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पर्सि आइतबार सरकार विस्तार हुने खुलासा गर्नुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार विस्तारका विषयमा नेकपा (एमाले) सँग छलफल टुंगिएको र आइतबार एकमुष्ठ रुपमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेले पनि मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको अन्तिम टुंगो लगाउन छलफल गरिरहेको छ । माओवादी केन्द्रका तर्फबाट करिब–करिब निर्णय गरिएको छ ।”

सबै वर्ग क्षेत्रलार्ई मिलाउनु पर्दा केही समय लागेको जस्तो देखिएपनि तत्काल सरकार विस्तार गरेर जनताको पक्षमा काम गरिहाल्ने हुटहुटी वर्तमान सरकारमा रहेको उहाँको भनाइ थियो । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको बताइए पनि उहाँले शपथ ग्रहण समारोहमा नै नाम सार्वजनिक हुने उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिहीबारको बैठकले मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको नामावली चयन गर्न अध्यक्ष दाहाल तथा नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिएको थियो । माओवादी केन्द्रले पार्टीका वरिष्ठ नेता थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । एमाले र माओवादी केन्द्रको सहमतिअनुसार एमालले १० र माओवादी केन्द्रले सात मन्त्रालय लिने सहमति भएको छ ।

नयाँ शक्तिका नेता शाह माओवादीमै

यसैबीच नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य जनक शाह आज माओवादी केन्द्रमा फर्किनु भएको छ । नेता शाहलाई अध्यक्ष दाहाले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउनुभएको हो । उहाँले वाम एकताको प्रक्रिया शुरु भएपछि जनतामा नयाँ उत्साहको सञ्चार भएको बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश नं ७ इन्चार्ज लेखराज भट्टलगायतको उपस्थिति थियो । नेता शाहसँगै कैलाली जिल्लामा क्रियाशील नयाँ शक्तिका दुई दर्जन नेता तथा कार्यकर्तासमेत माओवादी केन्द्र प्रवेश गरेका थिए ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्