१५ दिनभित्र प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी
काठमाडौँ : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बसेको दुवै कार्यदलको बैठकले १५ दिनभित्रमा पार्टी एकताको खाकासहित प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकले दुई कार्यदल गठन गरेको थियो । दुवै कार्यदलले पार्टी एकताका लागि तय गरिएको सात बुँदे आधारलाई टेकेर काम गर्ने ज्ञवालीले बताउनुभयो । राजनीतिक प्रतिवेदन तयार गर्नका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अन्तरिम विधान मस्यौदा गर्नका लागि माओवादी केन्द्रका नेता रामबहादुर थापालाई जिम्मा दिइएको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले चैतको पहिलो हप्ताभित्र पार्टी एकता गर्ने गरी छलफल अगाडि बढाइएको बताउनुभयो ।