Logo
२२ कार्तिक २०८१, बिहीबार
(February 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचांक सार्वजनिक, नेपाल १२२ औँ स्थानमा

काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेशनलले वर्ष २०१७ को भ्रष्टाचार सूचकांक प्रकाशित गरेको छ । यो विश्वव्यापी रुपमा सुशासनको क्षेत्रमा काम गर्दै आएको तथा त्यस बारेमा अध्ययन गर्ने संस्था हो । जसमा राजनीति, वित्तिय अनुशासन, न्यायमा पहुँचलगायतका ६ वटा मापदण्डको आधारमा देशहरुलाई शून्यदेखि १०० सम्म अंक दिइन्छ । ० अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक पाएमा भ्रष्टाचार हुँदै नहुने देश भनेर छुट्याइन्छ ।

जसमा नेपाल ९ स्थान माथि उक्लिँदै ३१ अंकसहित १२२ औं स्थानमा रहेको देखिन्छ । गएको वर्ष नेपालले २९ अंक पाएको थियो । भ्रष्टाचारमा नेपालको अवस्था गएको वर्ष भन्दा केही सुधार भएको देखिए पनि बढी भ्रष्टाचार हुने देशमै परेको छ ।

४० अंक पाएको छिमेकी देश भारत ८१ औँ स्थानमा छ । अर्को छिमेकी देश चीन ४१ अंकसहित ७७ औँ स्थानमा रहेको छ । २८ अंक पाएको बंगलादेश १४३ औँ स्थानमा छ । नेपालको भन्दा एक अंक बढी रहेको पाकिस्तान ११७ औँ स्थानमा रहेको छ । ३३ अंकसहित माल्दिभ्स ११२ औँ, ३८ अंकसहित श्रीलंका ९१ औँ तथा ६७ अंकसहित भुटान २६ औँ स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार भुटान तथा बढी अफगानिस्तानमा रहेको देखिएको छ ।

त्यस्तै सबैभन्दा कम भ्रष्टाचार हुने देशहरुमा न्युजिल्याण्ड र डेनमार्क रहेका छन् । न्युजिल्याण्डले ८९ अंक पाएको छ भने डेनमार्कले ८८ अंक पाएको छ । गएको वर्ष भन्दा न्युजिल्याण्डको एक तथा डेनमार्कको दुई अंक कम भएको हो । ८५ अंकसहित फिनल्याण्ड, नर्वे र स्वीट्जरल्याण्ड तेस्रो स्थानमा छन् । यस्तै त्यसपछि ८४ अंकसहित सिंगापुर र स्वीडेन, क्यानडा, नेदरल्याण्डस, बेलायत र लग्जेम्बर्गको ८२ अंक रहेको छ । यस्तै जर्मनीले ८१ अंक पाएको छ ।

सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा भने सोमालिया रहेको छ । जसले एक सयमा ९ अंक मात्रै पाएको छ । यस्तै १२ अंक रहेको दक्षिणी सुडान र १४ अंक रहेको सिरिया पुछारबाट दोस्रो र तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: Feb 22, 2018

प्रतिक्रिया दिनुहोस्