राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको तयारी सुरु, प्रावधान यस्तो !
काठमाडौं : राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको तयारी निर्वाचन आयोगले सुरु गरेको छ । निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो ।
छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा आयोगले आफूहरुसँग छलफल गरेको नेताहरुको भनाई छ ।
संघीय संसद गठनसँगै निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श सुरु गरेको हो ।
चैत्र भित्र सम्पन्न हुनेगरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
नयाँ राष्ट्रपतिको चयन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानको धारा ६२ मा व्यवस्था छ ।
संविधानको धारा ६४ मा राष्ट्रपतिको योग्यताबारे उल्लेख छ । जसअनुसार राष्ट्रपति हुनका लागि संघीय संसदको सदस्य हुन योग्य भएको, ४५ वर्ष पूरा भएको र कानूनले अयोग्य नठहर्याएको व्यक्ति हुनुपर्ने छ ।
सोही धाराको उपधारा २ ले कुनै पनि व्यक्ति दुई कार्यकालसम्म राष्ट्रपति हुन पाउने बाटो खोलेको छ । सो उपधारामा भनिएको छ- ‘दुईपटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन ।’
संविधानको यो प्रावधानले कुनै पनि व्यक्तिलाई दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने सुविधा दिएको छ । यसअर्थमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः एकपटक राष्ट्रपति हुन संविधानले छेक्दैन । तर एमाले, माओवादी भित्र अरु पनि आंकाक्षी रहेकाले को राष्ट्रपती, उपराष्ट्रपती बन्ने हो यसै भन्न सकिन्न ।