प्रधानमन्त्री देउवाको सम्बोधन : ‘म आजै राजीनामा दिँदैछु’
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दैछन् । राष्ट्रका नाममा सम्बोधन गरी देउवाले प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकालबाट बिदा लिन लागेका हुन् । बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा व्याख्या गरेका छन् ।
देउवाद्वारा राजीनामा
यसैबीच, प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिएका छन् ।
करिव १५ मिनेट लामो सम्बोधनको क्रममा उनले आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी गराएका थिए । उनले तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पुरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पुरा गरेको बताए । प्रधानमन्त्री राजीनामा बुझाउन शीतल निवास जाँदैछन् । सम्बोधनअघि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
– मेरो चुनौतीपूर्ण कार्यकाल सफलतापूर्वक सम्पन्न ।
– संविधान निर्माणपश्चात असन्तुष्टि व्यवस्थापन गरियो ।
– सबैलाई सहभागी गराएर निर्वाचन सम्पन्न गर्ने मेरो सपना पूरा भएको छ ।
– फास्ट ट्याक सेनाले बनाउँदैछ । मेलम्ची आउँदैछ ।
– राष्ट्रिय स्वार्थ र जनताको हीतलाई धयान दिएर परराष्ट्र नीति संचालन गरिएको छ।
– भारत र चीनसँग सम्बन्धलाई सन्तुलित बनाइएको छ ।
– भारत र चीनबाट भएका उच्चस्तरीय भ्रमणबाट सम्बन्ध नयाँ दिशामा अघि बढेको छ ।
– मेरो कार्यकालमा संयुक्त राष्ट्रसंघमा नेपालको भूमिका र प्रभाव बिस्तार भएको छ ।
– स्वदेशी र विदेशी लगानीमा वृद्धि भएको छ ।
– स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृति नियन्त्रण गरिएको छ ।
– सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्षबाट ६५ वर्ष बनाउँदा धेरैलाई लाभ हुने छ ।
– भूकम्पपछि पुनर्निर्माणले तीब्रता पाएको छ ।
– राजनीतिक संक्रमण सकिएको र आर्थिक समृद्धितर्फ अघि बढेको महसुस सबैले गरुन् ।
– म आजै राजीनामा दिँदैछु ।
– अब बन्ने सरकारले राष्ट्रको सर्वोपरी हीतमा काम गर्न सकोस् । शुभकामना ।