Logo
३ आश्विन २०८१, बिहीबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्न पार्टी एकता : पुष्पकमल दाहाल

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा एमालेसँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताए ।

तत्कालीन माओवादीले ‘जनयुद्ध शुरु गरेको दिनको स्मरणमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३औँ जनयुद्ध दिवस समारोहलाई सम्बोधन गर्दै उनले बृहद् लक्ष्य पूरा गर्नाका लागि एकता प्रक्रिया अगाडि बढाइएको बताए ।अध्यक्ष दाहालले भने, “सामान्य शक्तिको भरमा समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने भएकाले ठूलो शक्ति जरुरी परेको छ । त्यसैका लागि हामी एमाले र माओवादी केन्द्र शक्तिशाली पार्टी निर्माणमा लागेका छौँ ।”

संविधानमा समाजवाद लेखेर र समाजवादको नारा लगाएरमात्रै समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने टिप्पणी गर्दै उनले सबै प्रगतिशील, देशभक्त र वामपन्थी शक्तिबीचमा एकता र सहकार्य जरुरी रहेको बताए । देश र जनतालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्वले समय समयमा जोखिम लिनै पर्छ भन्दै अध्यक्ष दाहालले समाजवादी क्रान्तिका लागिसमेत आफू र आफ्नो पार्टीले पुनः जोखिम उठाएको स्पष्ट पारे ।

एमालेसँगको पार्टी एकताको टुंगो लाग्ने स्पष्ट पार्दै आर्थिक समृद्धि र जनताको आर्थिकस्तर उकास्न पनि मिलेर जाने जनमत आफूहरुलाई प्राप्त भएको छ भन्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको कुरा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्वले पनि स्वीकार गरेको दाबी गरे ।समाजवादी अभियानलाई सार्थक निष्कर्षमा पु¥याउन अझै ठूलो दायरा चाहिएको स्पष्ट पार्दै उनले आफू र आफ्नो पार्टीले शहीद, बेपत्ता र घाइते योद्धाको सपनाविरुद्ध जाने प्रयाससमेत नगर्ने बताए ।

शक्तिशाली कम्युनिष्ट केन्द्र बनाएर झण्डै तीन करोड नेपालीलाई एकताबद्ध बनाएर लैजाने सोचमा आफूहरु रहेको चर्चा गर्दै अध्यक्ष दाहालले वामपन्थी शक्ति एकताबद्ध नहुन् भनेर चलखेल गर्ने शक्ति परास्त भएर जाने र जनताको सामु उनीहरुको केही नचल्ने बताए । कार्यक्रममा माओवादी केन्द्रको सहायक संगठन वाइसिएलले विभिन्न झाँकी प्रस्तुत गरेको थियो । जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले टीका आदानप्रदान गर्दै शुभकामना आदानप्रदानसमेत गरेका थिए ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्