६ महीनाको अर्थतन्त्र : व्यापारघाटा बढेपछि चालू खाता ७५ अर्ब ७१ करोडले घाटामा
काठमाडौं । व्यापारघाटा वृद्धिसँगै विप्रेषण आप्रवाहमा कमी आएपछि चालू खाता रू. ७५ अर्ब ७१ करोडले घाटामा गएको छ । फलस्वरूप, समग्र शोधनान्तर रू. ६ अर्ब ६६ करोडले घाटामा छ । चालू आवको ५ महीनामा पनि शोधनान्तर ९ अर्ब २७ करोड घाटामै थियो । देश बाहिरिने रकमभन्दा भित्रने रकम थोरै भएपछि शोधान्तर खाता घाटामा जान्छ ।
चालू आर्थिक वर्ष (आव) २०७४/७५ को पहिलो ६ महीनामा आर्थिक परिसूचकहरू मिश्रित रहे पनि समग्र अर्थतन्त्र कमजोर बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको प्रतिवेदनले यस्तो सङ्केत गरेको हो । गत आवको सोही अवधिमा शोधनान्तर बचत भएकोमा यस वर्ष घाटामा गएको छ । व्यापारघाटा चुलिनुका साथै विप्रेषण आप्रवाह घटेको छ भने मुद्रस्फीति दबाबमा परेको छ ।
चालू आवको पहिलो ६ महीनामा निर्यातका तुलनामा आयात उच्च वृद्धि भएपछि व्यापारघाटा बढेको हो । ६ महीनामा रू.४१ अर्ब १४ करोडको कुल वस्तु निर्यात भएको छ । यस अवधिमा नेपालबाट निर्यात हुने मुख्यगरी जुस, अलैंची, जीआई पाइप, ऊनी गलैंचा, तामाका तारलगायत वस्तुको निर्यात घटेको छ ।
गतवर्षको यसै समयमा यस्तो शोधनान्तर रू.४५ अर्बले बचतमा थियो । चालू आवको पहिलो २ महीना लगातार घाटामा रहेको समग्र शोधान्तर असोज महीनामा रू. ४ अर्ब २७ करोडले नाफामा थियो । त्यसयता पुनः घाटामा रहेको हो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह पनि शून्य दशमलव ५ प्रतिशतले घटेर रू. ३ खर्ब ४० अर्ब ५४ करोडमा सीमित छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव ७ प्रतिशतले बढेको थियो ।
फलस्वरूप, खुद ट्रान्सफर आय १ दशमलव ७ प्रतिशत घटेर रू.३ खर्ब ९३ अर्ब ३४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ दशमलव ६ प्रतिशतले बढेको थियो । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी आएकाले विप्रेषण घटेको हो ।
यद्यपि गत आवको तुलनामा पूँजीगत ट्रान्सफर र विदेशी लगानी आप्रवाह भने बढेको छ । अघिल्लो वर्ष रू. ७ अर्ब ९३ करोड रहेको पूँजीगत ट्रान्सफर अहिले बढेर रू. १० अर्ब ७ करोड भएको छ भने सोही समयमा रू.७ अर्ब ३९ करोड रहेको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह पनि बढेर रू.१४ अर्ब ३३ करोड पुगेको छ । समीक्षा अवधिमा मुद्रास्फीति पनि दबाबमा छ । गतवर्ष ३ दशमलव २ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति बढेर ४ प्रतिशत पुगेको छ । खाद्यान्नको मूल्यमा भएको वृद्धिले समग्र मुद्रास्फीति दबाबमा राखेको हो ।
अघिल्लो वर्ष शून्य दशमलव ७ प्रतिशत रहेको खाद्य मुद्रास्फीति समीक्षा अवधिमा बढेर २ दशमलव ४ प्रतिशत पुगेको छ । तरकारी, दुग्धजन्य पदार्थ अण्डा, फलफूल, घ्यू तथा तेल, र माछामासुको मूल्य बढेकाले मुद्रस्फीति दबाबमा परेको राष्ट्र बैङ्कको तर्क छ । यस अवधिको गैरखाद्य मुद्रास्फीति भने नियन्त्रणमै छ । अघिल्लो वर्ष ६ दशमलव २ प्रतिशत रहेको गैरखाद्य मुद्रास्फीति हाल ५ दशमलव ३ प्रतिशत छ । लत्ताकपडा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, स्वास्थ्य, शिक्षालगायत वस्तुको मूल्य वृद्धिदर तुलनात्मक रूपमा कम रहेकाले गैरखाद्य मुद्रास्फीति नियन्त्रणमा रहेको तथ्याङ्कले देखाउँछ ।
समष्टिगत आर्थिक प्रतिवेदनले आर्थिक परिसूचकहरू जेजस्ता रहे पनि अर्थतन्त्र मिश्रित रहने भनेको छ । प्रतिवेदनमा भनिएको छ, ‘ऊर्जा उत्पादनमा भएको क्रमिक वृद्धि, आपूर्ति अवस्थामा आएको सुधार र निर्माण क्षेत्रमा आएको तीव्रताले गैरकृषि क्षेत्रलाई विस्तार गर्छ र अर्थतन्त्रलाई सकारात्मक रहने आधार दिन्छ ।’ यस अवधिको विदेशी विनिमय सञ्चिति १ दशमलव १ प्रतिशतले घटेर रू. १० खर्ब ६७ अर्ब ३४ करोड छ । चालू आवको शुरूमा यस्तो सञ्चिति रू. १० खर्ब ७९ अर्ब ४३ करोड थियो ।