Logo
२२ कार्तिक २०८१, बिहीबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा समेत कांग्रेस, माओवादीलाई समानुपातिक सूची सच्याउन पत्राचार

काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपालाई समानुपातिक सांसदहरुको सूची सच्याएर पुनः पठाउन पत्राचार गरेको छ । उनीहरुले सोमबार पेस गरेको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम नमिलेपछि आयोगले सच्याएर पुनः बुझाउन भन्दै पत्राचार गरेको हो । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले बुझाएको सूचीमा पिछडिएको क्षेत्रको ठाउँमा अन्य समूहबाट दुई जनाको नाम राखेर बुझाएको छ ।

कांग्रेस र राजपाको भन्दा माओवादी केन्द्रले बुझाएको सूचीमा धेरै त्रुटी देखिएको छ । पिछडिएको क्षेत्रबाट एक जनाको प्रतिनिधित्व गराउन, खसआर्यबाट ५ जनाको नाम बुझाउनुपर्नेमा ६ जनाको नाम बुझाइएकाले एकजना घटाउन र मधेसी समूदायबाट ३ जनाको नाम हुनुपर्नेमा २ जनाको मात्रै नाम रहेकाले एक जना थप्न आयोगले माओवादीलाई भनेको छ ।

यसैगरी राजपाले खसआर्यबाट दुई जना महिलाको नाम पठाउनुपर्नेमा प्राथमिकताको क्रम नमिलेकाले सच्याएर पठाउन आयोगले भनेको छ । सुरुमा सूची बुझाउँदा खर्सआर्य समूहको एक नम्बरमा नरमाया ढकालको नाम भए पनि राजपाले सोमबार बुझाएको सूचीमा ढकालको नाम हटाएर दोस्रो र तेस्रो नम्बरमा रहेका व्यक्तिहरुको नाम उल्लेख छ ।

सूची बुझाउन दुई दिनको समय दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अब आयोगले भने अनुसार फागुन २ गते साँझ ५ बजेभित्रै सूची बुझाउनुपर्ने छ । दलहरुको त्रुटीले प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन ढिलाइ भएको छ ।  दलहरुले सच्याएर सूची बुझाउनासाथ प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी आयोगले गरेको छ ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्