Logo
१२ मंसिर २०८१, बुधबार
(February 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो समयसम्म शिक्षण पेसामा रहेका भण्डारी बने सभामुख

विराटनगर : एमालेका प्रदीपकुमार भण्डारी प्रदेश १ को सभामुख बनेका छन् । धरान-१३ का ६३ वर्षीया भण्डारी लामो समयसम्म शिक्षण पेसामा रहे थिए । भण्डारी सभामुख औपचारिक घोषणा भने सोमबार बस्ने प्रदेशसभा बैठकले गर्ने छ । विज्ञान विषयका शिक्षक उनी २०७२ सालमा सेवानिवृत भएका हुन् । २०२७ सालदेखि वामपन्थी राजनीतिमा लागेका भण्डारी हाल एमाले सुनसरीका सचिवालय सदस्य तथा धरान इञ्चार्ज हुन् । प्रदेशसभा सचिवालयका सचिव धुव्र घिमिरेले सभामुख पदका लागि एक जना सदस्यको मात्र उम्मेदवारी दर्ता भएको जानकारी दिए ।

निर्वाचन कार्यक्रमअनुसार आइतबार दिउँसो ३ बजेसम्म तोकिएको मनोनयन दर्ताका क्रममा सभामुख पदका लागि भण्डारीको मात्र उम्मेदवारी परेपछि उनी सभामुखमा निर्विरोध भएका हुन् । आइतबार बिहान बसेको एमाले संसदीय दलको बैठकले भण्डारीलाई सभामुखका लागि सर्वसम्मत चयन गरेको थियो । एमालेका प्रदेश इञ्चार्ज भीम आर्चायले आंकाक्षी अरु भए पनि सर्वसम्मत भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको बताए ।

माधवकुमार नेपाल समुहका आचार्यलाई पराजित गर्दै अध्यक्ष केपी ओली समूहका राई प्रदेश १ को एमाले संसदीय दलको नेतामा निर्वाचित भएका थिए । ओलीपक्ष मुख्यमन्त्री बन्ने भएपछि नेपाल समूहलाई सभामुख दिएको हो ।
धरान स्थायी घर भएका भण्डारी सुनसरी क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । २०१२ सालमा जन्मेका भण्डारी धरानकै शिक्षा सदन विद्यालयमा २०३५ सालदेखि शिक्षण पेसामा लागेका थिए ।

प्रकाशित मिति: Feb 11, 2018

प्रतिक्रिया दिनुहोस्