फोरम र राजपाको भागबण्डा मिलेपछि प्रदेश २ मा मधेसवादी सरकार
काठमाडौं : प्रदेश नम्बर २ मा मधेसवादी दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको सरकार बन्ने पक्का भएको छ । फोरम र राजपाको भागबण्डा मिलेपछि २ नम्बर प्रदेशमा मधेसवादी दलको सरकार बन्ने पक्का भएको हो । शनिबार भएको छलफलमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबिच पदको बाँडफाँडमा २ नम्बर प्रदेशमा मुख्यमन्त्रीसहित ३ वटा मन्त्रालय र उपसभामुख फोरमले पाउने सहमति भएको छ । यस्तै सभामुखसहित ३ वटा मन्त्रालय राजपाले पाउने सहमति भएको छ । फोरमले मुख्यमन्त्रीसहित आन्तरिक मामला तथा कानुन, आर्थिक तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउनेछ ।
राजपाले सभामुखसहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । मुख्यमन्त्री पाउने सहमति गरेको फोरमले मो. लालबाबु राउत गद्दीलाई पहिले नै संसदीय दलको नेता चुनिसकेकाले राउत नै प्रदेश नम्बर २ को मुख्यमन्त्री हुने पक्का भइसकेको छ । १ सय ७ जना सांसद रहेको प्रदेश नम्बर २ मा फोरमका २९ र राजपाका २५ सांसद रहेका छन् भने बहुमतको लागि ५४ सिट आवश्यक पर्नेमा दुइ दलको ५४ सिट नै रहेको छ ।