Logo
३ आश्विन २०८१, बिहीबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सवारीचालकलाई रेस्ट गर्न लगाएर सचिव आफैँले चलाएका थिए गाडी

काठमाडौँ : शनिबार विहान ३ बजे सिचाईं मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सवार जिप दुर्घटना भयो । सिंचाइँ मन्त्रालयका सचिव ई. यादव शुक्रबार बेलुका ९ बजे कपिलवस्तु बहादुरगञ्जमा रहेको घरबाट निस्केका थिए । गाडीमा सचिव यादव, उनका एक मात्र छोरा २२ वर्षीय सन्तोष यादव, उनका आफन्तकी छोरी १५ वर्षीया उन्नती गुप्ता र सवारी चालक निरञ्जन यादव सवार थिए ।

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खस्यो । दुर्घटनामा जिवित निरञ्जन यादव एक वर्षदेखि उक्त गाडी चलाउँदै आएका थिए । उनलाई दुर्घटनास्थलबाट उद्धार गरी काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको छ ।

सचिव यादव निकट स्रोतका अनुसार उनी माइली छोरी डाक्टर रञ्जनाको इन्गेजमेन्टका लागि घर गएका थिए । नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षक रहेकी डाक्टर रञ्जनाको आउँदो फागुन ११ मा विवाहको मिति तय गरिएको थियो ।घरबाट निस्कँदा बा १ झ ३१४० नम्बरको गाडी सचिव यादवका सवारी चालकले नै चलाएको सचिव निकट स्रोतले जानकारी दियो । यादवले बाटोमा सवारीचालकलाई रेस्ट गर्न लगाएर आफैं गाडी चलाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

शनिबार बिहान पृथ्वी राजमार्गस्थित धादिङको सलाङघाटमा सचिव यादवले चलाएको गाडी राति करिब २ बजेर ५० मिनेटमा दुर्घटनामा परेको थियो । प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले प्रहरीलाई राति २ बजेर ५५ मिनेटमा दुर्घटनाको जानकारी आएको र प्रहरी ३ बजेर १० मिनेटमा घटना स्थल पुगेको बताए ।

तिमिल्सिनाले भने, ‘घटनास्थलमा हामीलाई चालक यादवले गाडी सचिवज्यूले आफैं चलाइरहेकाले आफू पछाडिको सिटमा सुतेको र गाडी पानीमा पुगेपछि दुर्घटनाबारे थाहा पाई पछाडिको ढोकाबाट निस्केर पौडी खेल्दै बाँचेको बताएको थियो ।’ उनी भन्छन्, ‘सचिव यादवको शव ड्राइबर सिटबाटै निकालिएकाले पनि उहाँले आफैं गाडी चलाएको देखिन्छ ।’

तिमिल्सिना भन्छन्, ‘दुर्घटना हुँदा प्रत्यक्षदर्शी नभएकाले दुर्घटनाको यकिन कारण थाहा नभए पनि सडक किनारामा राखिएका दुईवटा ब्यारियरलाई भत्काएर गाडी खसेको अवस्था हेर्दा सचिवज्यू निदाएर गाडी खसेको हुन् सक्छ ।’ सडकको अवस्था खासै खराब नरहेकाले दुर्घटनाको अर्को कारणमा ओभर स्पिड हुनसक्ने तिमिल्सिनाको अनुमान छ । प्रहरीले सामाचार तयार पार्दासम्म हराइरहेको ३ जना मध्ये २ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

सचिव यादव र गुप्ताको शव गाडीबाटै निकालिएको प्रहरीले जनाएको छ। सचिव यादवका छोरा सन्तोषको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । काठमाडौं कुसुन्तीमा पनि घर भएका सचिव यादवका एक छोरा र तीन छोरी छन् ।उनि आउँदो चैतबाट उमेर हदका कारण सेवानिवृत्त हुँदै थिए ।

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्