ताइवानमा ‘शक्तिशाली’ भूकम्प, भवनहरू थचारिन पुग्यो
ताइवानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । २०० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेट जाँदा टापुको पूर्वीतटदेखि करिब २० किलोमिटर पर ६.४ म्याग्निट्युडको भूकम्प गएको थियो ।
आपत्कालीन उद्धारकर्ताहरूले ख्वालिएन शहरमा आंशिक रूपमा ढलेका होटल र आवासीय भवनहरूबाट करिब १५० जनाको उद्धार गरेका छन् । ढल्किएका भवनहरू, छरपस्ट भग्नावशेषहरू र सडकहरूमा व्यापक क्षति पुगेको तस्वीरहरूमा देखिन्छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार नराम्ररी क्षति पुग्नेमा एउटा अस्पताल भवन पनि रहेको छ ।
भूकम्पपछि करिब ४० हजार घरमा पानी आपूर्ति बन्द भएको छ भने राजमार्ग तथा पुलहरू बन्द भएका छन् । भूकम्पले १० तले मार्शल होटलको जमिन सतहमुनिको र भुईँतला वजन थेग्न नसकी थचारिन पुग्यो । होटलका एकजना कर्मचारीको उद्धार गरिएको छ ।
तर अन्य दुईजना अझै भवनभित्र फसेको ठानिएको छ । एकजना प्रत्यक्षदर्शी जीना स्टारबकले बीबीसीलाई भनिन्, “भित्र मान्छेहरू फसेको हामीलाई थाहा छ। भित्र हामीले प्रकाश हेर्न सक्छौँ । भित्र भएको बताउन मानिसहरूले मोबाइलको बत्ती बालिरहेका छन् ।”
अधिकारीहरूका अनुसार आवासीय घरमा अरू दुईजना फसेको ठानिएको छ । आपत्कालीन उद्धारका लागि सेनाको सहयोग मागिएको छ । ख्वालिएन शहरमा करिब एक लाख मानिस बस्छन् र त्यो एउटा लोकप्रिय पर्यटकीय गन्तव्य हो भन्दै बिबिसमा खबर छ ।