Logo
३ आश्विन २०८१, बिहीबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु

काठमाडौं : देशैभरि राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ । प्रदेश २ काे निर्विरोध भइसकेकाले बुधबार छ वटा प्रदेशमा मतदान सुरू भएकाे छ । प्रदेश ३ को निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ । मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी कुल २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् । जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर वडा कार्यालयमा मतदान केन्द्र तोकिएको छ। जावलाखेल मैदानमा मतदानको व्यवस्था मिलाइएको छ ।  प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा, प्रदेश ३ को जवालाखेल चिडियाखाना अगाडि रहेको ललितपुर महानगरपालिका वडा ४ को कार्यालयमा र प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालय परिसरमा निर्वाचन हुने छ ।

यसैगरी प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा, प्रदेश ६ को सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा र प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा निर्वाचन केन्द्र तोकिएको छ ।राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

पोखरा : राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान शुरु भएको छ । बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा शुरु भएको निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी २३० जना रहनुभएको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगत्तै मतगणना शुरु गर्नेगरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो । यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कूल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक/एक जना) रहेकामा अपाङ्ग तर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

प्रदेशसभाका सदस्यभन्दा स्थानीय तहको संख्या बढी भएका कारण उहाँहरूको बेग्लाबेग्लै लाइन रहेको छ । बिहान ९ बजेदेखि नै निकै उत्साहका साथ मतदाता लामबद्ध हुनुहुन्छ ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्