Logo
३० कार्तिक २०८१, शुक्रबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा सीधा असर पर्नेगरि आयो मोदी सरकारको अन्तिम बजेट  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट संसद्‌मा प्रस्तुत गरेको छ ।
आगामी वर्षको लोकसभा निर्वाचनलाई लक्षित पपुलिस्ट कार्यक्रमसहित बजेट आएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । भारतीय वित्तमन्त्री अरूण जेट्लीले संसदमा प्रस्तुत गरेको बजेटमा कृषि र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिइएको छ ।

बजेटले किसानलाई विभिन्न उपहारको घोषणा समेत गरेको छ । कृषि उत्पादनको लागतको डेढ गुणाभन्दा बढी समर्थन मूल्य तोक्ने घोषणा बजेटमा समेटिएको छ । त्यस्तै, टमाटर, आलु, प्याजजस्ता तरकारी उत्पादन र प्रवद्र्धनका लागि ५०० करोड भारु छुट्याइएको छ । माछा र पशुपालनका लागि भारु १० हजार करोड विनियोजन गरिएको छ ।

भारतले कृषि क्षेत्रलाई अनुदान बढाउँदा त्यसको सीधा असर नेपालमा पर्छ । अहिले पनि अनुदान प्राप्त भारतीय उत्पादनसँग नेपाली कृषि उत्पादनले प्रतिस्पर्धा गर्न कठिन छ । बढी लागतका कारण नेपाली कृषि उत्पादन भारतीयका तुलनामा महंगा छन् ।

भारतीय सञ्चारमाध्यमहरुले बजेट ग्रामीण क्षेत्र र गरीब केन्द्रित भएको उल्लेख गरेका छन् । बजेटले ५० करोड जनताका लागि लक्षित राष्ट्रिय स्वास्थ्य सुरक्षा योजनाको महत्वकांक्षी कार्यक्रम घोषणा गरेको छ । सम्भवतः यसलाई ‘मोदीकेयर’ नाम दिन सकिने नवभारत टाइम्सले लेखेको छ ।

यो स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत १० करोड भारतीय परिवारका लागि वार्षिक भारु. ५ लाखको स्वास्थ्य बीमा गरिनेछ । यो कार्यक्रम लागू भएमा कुल भारतीयको ४० प्रतिशत परिवारले वार्षिक रु. ५ लाखसम्मको औषधि उपचारमा आफ्नो पैसा खर्च गर्नुपर्ने छैन । बजेटले ८ करोड ग्रामीण महिलालाई निःशुल्क ग्याँस जडान, ४ करोड घरमा निःशुल्क बिजुली जडान, २ करोड शौचालय निर्माण, गरीब परिवारका लागि ५१ लाख घर निर्माण लगायतका लोकप्रिय कार्यक्रम समेटेको छ ।

 

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्