Logo
१० मंसिर २०८१, सोमबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व राजा ज्ञानेन्द्र शाहलाई भारतमा राजाकै जस्तो विशेष सम्मान

काठमाडौँ : पुर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालका राजाहरुलाई दिइँदै आएको विशेष सम्मानको निरन्तरता स्वरुप भारतको उडिसा प्रान्तस्थित जगन्नाथपुरी मन्दिरमा विशेष पूजाका लागि आमन्त्रण गरिएको छ । आगामी शुक्रबार बिहान पुरी मन्दिरको ‘रत्नवेदी’बाटै शाहले त्यहीँ जगन्नाथका रुपमा अवस्थित श्रीकृष्ण, उनका दाजु बलराम र बहिनी सुभद्राको विशेष आरती र पूजा गर्ने प्रमुख मन्दिर सञ्चालकले जानकारी दिएका छन् ।

नेपाली राजाले मन्दिरमा कस्तुरी चढाउने परम्परा रहिआएको छ । उक्त विशेष कार्यक्रमका लागि शुक्रबार बिहान ९:३० बजेदेखि सर्वसाधारणका लागि मन्दिर प्रवेशमा प्रशासनले रोक लगाएको छ । बुधबारदेखि सुरु हुने ६ दिनको उडिसा बसाइमा पूर्वराजा शाहले जगन्नाथ पुरीसँगै साक्षीगोपाल र भुवनेश्वरस्थित लिंगराज मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।

उनले यसअघि सन् २००३ मा जगन्नाथ पुरीमा विशेष पूजा गरेका थिए भने साक्षी गोपाल मन्दिरको दर्शन १५० वर्षपछि नेपाली राजसंस्थाका प्रतिनिधिबाट भएको आयोजकहरुले जानकारी दिएका छन् । सोमबार काठमाडौँबाट भारत प्रस्थान गरेका शाहले पहिलो दुई दिन कोलकातास्थित दक्षिणेश्वर, बेलुरमठ तथा अन्य तीर्थस्थल दर्शन र आफन्तहरुसँगको भेटघाटमा बिताएका छन् ।

पुरीस्थित गोबर्द्धनमठका जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीको २५ अौँ पट्टाभिषेक समारोहका लागि विशेष अतिथिका रुपमा आमन्त्रित पूर्वराजा मुख्य समारोहमा सामेल हुनेछन्। प्रवासकै क्रममा श्रीमार्ग नामक संस्थाद्वारा स्थापित गौशालाको उद्घाटन र गौमाता मन्दिरको शिलान्याससमेत पूर्वराजाबाट हुने कार्यक्रम छ । आदि शंकराचार्यद्वारा नवौँ शताब्दीमा स्थापित चार शंकराचार्य मठमध्ये गोबर्द्धन मठ अन्तर्गत नेपाल पनि पर्दछ ।

बिक्रम संवत २०६३ मा नेपाल धर्मनिरपेक्ष र त्यसको दुई वर्षपछि गणतन्त्र घोषित गरिएपछि पुरीसँग टुटेको सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्ध ब्युत्याउनका लागि शाहको भूमिका महत्वपूर्ण हुने आयोजकहरुले दाबी गरेका छन् ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्