Logo
३ आश्विन २०८१, बिहीबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र चीनबीचको नेपाललाई समृद्ध हुने अथाह संभावना

काठमाडौँ : द्रुतगतिमा आर्थिक उन्नति गरेर विश्वकै अग्रणी अर्थतन्त्रकारुपमा उदाएका भारत र चीनबीचको नेपाललाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने अथाह संभावना रहेको एकजना भारतीय कूटनीतिज्ञले बताएका छन् । नेपाल विश्वसम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध र भावी दृष्टिकोण’ विषयक प्रवचनमा उहाँले भूगोल र जनसंख्याका हिसाबले नेपाल विश्वकै मध्यम मुलुक भएको बताए ।

“नेपाल सानो देश हुँदै होइन, कतिपय युरोपेली राष्ट्र नेपालभन्दा साना छन्,” नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भन्नुभयो–“ राष्ट्रिय ढुकुटी भर्ने विशाल परियोजनाबाटै नेपालीको समृद्धि सुनिश्चित हुन्छ, यसका लागि साना तथा मझौला परियोजनाभन्दा जलविद्युत् उत्पादनका ठूला परियोजना सञ्चालन गर्नुपर्दछ ।” उहाँले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको तर त्यसको प्रचार नगरिएको बताउँदै जलविद्युत्पछि नेपालको अथाह विकासको संभावना बोकेको पर्यटन क्षेत्र हो भन्न्नुभयो ।

भारतीय राजदूत पुरीले नेपालको विकासका बाहक युवापुस्ता हुन् भन्दै “वैदेशिक मुद्रा आर्जनको भरपर्दो स्रोत पर्यटन भएकाले यसबाट अधिकतम लाभ लिन अब नेपाल पछि पर्नुहुँदैन, भौतिक पूर्वाधार निर्माण गर्नसके दोब्बर पर्यटन भित्र्याउन सकिन्छ,” बताउनुभयो । “एउटा अन्तर्राष्ट्रिय विमानस्थल भए सुनमा सुगन्ध हुन्थ्यो,” उहाँले भन्नुभयो – “हजारौँ भारतीय तीर्थयात्री नेपालगञ्ज हुँदै कैलाश मानसरोवर जाने गरेका र अधिकाधिक भारतीयको जीवनकालमा एकपटक मुक्तिनाथ दर्शन गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।”

भारतीय राजदूत पुरीले नेपाली जनताको क्रय शक्तिमा भएको वृद्धि र वस्तु तथा सेवाको अधिक खपतले भारतसँगको व्यापार घाटा बढेको बताउँदै नेपालको कृषिलाई आधुनिकीकरण गर्नैपर्ने र कृषि उत्पादकत्व वृद्धिले पनि केही हदसम्म व्यापार घाटा परिपूर्ति गर्ने धारणा व्यक्त गर्नुभयो । “भारत र नेपाल सुखदुःखका साथी हुन्, एकअर्काका पीरमर्का दुवैले बुझेका छन्, सरकारी र जनस्तरमा पारस्परिक सम्बन्धलाई प्रगाढ पार्ने प्रयास भएका छन्, नेपालको समृद्धि तथा स्थायित्व हाम्रो चाहना हो,” प्रवचनका क्रममा सहभागिले सोधेका प्रश्नको जवाफ दिँदै उहाँँले भन्नुभयो, – “प्रचण्डज्यूलाई पुत्रशोक परेका बखत हाम्रा प्रधानमन्त्री र विदेशमन्त्रीले तत्काल फोन गरेर सात्वना दिनुभयो, तीनवटै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकार र राजनीतिक दललाई बधाइ दिन र भारतले नेपाललाई सक्दो सहयोग गर्नेे सन्देश प्रवाह गर्न गत साता भारतीय विदेशमन्त्री नेपाल आउनुभएको हो ।”

राजदूत पुरीले अदुवालगायत नेपाली उत्पादन निकासीमा भारतले अवरोध खडा नगरेको, खुला सिमाना आर्थिक गतिविधिका निम्ति उपयुक्त रहेको, सहज रुपमा सीमा वारपार गर्ने प्रबन्ध गर्न युरोपेली संघलाई ५० औँ वर्ष लागेको सन्दर्भ सुनाउँदै दुवै देशका सुरक्षा निकायको समन्वय र सहयोगमा सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिने भरमग्दुर प्रयास भइरहेको बताउनुभयो । नेपाली भूमि अतिक्रमणको प्रतिवाद गर्दै उहाँले सन् १९९८ मा भारत र नेपालले सिमाना व्यवस्थापनका निम्ति गरेको सहमतिअनुरुप काम भइरहेको, ‘स्ट्रिप म्याप’ तयार पारिएका र भौगोलिक अवस्थिति प्रणाली (जिपिएस)अनुरुप भएको सिमांकन अतिक्रमण अकल्पनीय भएको बताउनुभयो ।

कार्यक्रममा राजदूत पुरीले नेपालको आन्तरिक माामिलामा भारतबाट सूक्ष्म व्यवस्थापन, हस्तक्षेप एवं प्रभाव, जलस्रोतको उपयोग, नेपालको संविधानप्रति भारतको दृष्टिकोण, भारतीय सहयोगका विकास परियोजनामा हुने हदैसम्मको ढिलासुस्तीलगायत दर्जनौँ गैरकूटनीतिक प्रश्नको सन्तुलित जवाफ दिनुभएको थियो । परिषद्का अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष उमेशबहादुर मल्ल, महासचिव असिम थापा र कोषाध्यक्ष रविन्द्रनाथ भट्टराईले नेपाल–भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्