Logo
३ आश्विन २०८१, बिहीबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि राष्ट्रिय सभा चुनाव, एक मत बदर भए १८ वा ४८ मतभार नोक्सान हुने 

काठमाडौँ : दुई महिनाअघि सकिएको प्रतिनिधिसभा निर्वाचन पछि बहुप्रतीक्षित राष्ट्रिय सभाको चुनाव बुधबार हुँदै छ । राष्ट्रिय सभा गठन नहुँदा अन्तिम नतिजा घोषणा हुन सकेको छैन । निर्वाचन आयोगले मंसिर २१ मा सकिएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम संवैधानिक र कानुनी जटिलताका कारण सार्वजनिक गर्न नमिलेको हो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभासहितको संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलले कम्तीमा आफूले प्रतिनिधित्व गरेको कुल सिटको ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाको प्रत्यक्षको समेत जोड्दा ३३ प्रतिशत पुर्‍याउन नसक्ने दलको हकमा अपुग महिलाको संख्या समानुपातिक सूचीबाट पुर्‍याउनुपर्ने कानुनी व्यवस्था छ । कानुनको त्यही प्रावधानका कारण राष्ट्रिय सभा गठन नभई आयोगले प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिन सकेको छैन ।

यसबाट नयाँ सरकार गठन प्रक्रियासमेत ठप्प छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र राष्ट्रिय सभा निर्वाचन परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिने प्रक्रिया थालिने बताए । प्रमुख आयुक्त यादवका अनुसार प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिन आयोगको तयारी पूरा भइसकेको छ । २६ गते कुन दलले कति सिट पाएको सार्वजनिक गरी विजयी उम्मेदवारको नाम प्रस्ताव गर्न दलहरूलाई पत्राचार गरिने आयोगको तयारी छ । प्रमुख आयुक्त यादवले संवैधानिक र कानुनी प्रावधानका कारण प्रतिनिधिसभाको पूर्णताका लागि राष्ट्रिय सभाको चुनाव कुर्नुपरेको बताए ।

उनले तोकिएको समयभित्र कानुनअनुसार बन्दसूचीबाट विजयी उम्मेदवारको नाम मिलाएर दलहरूले बुझाइदिए परिणाम थप छिटो दिन सकिने बताए । आयोगले छिटो परिणाम दिन निर्वाचन निर्देशिका संशोधन गरी प्रस्तावित विजयी उम्मेदवारको नामावली पेस गर्न दलहरूले पाउने ७ दिनको समय घटाएर ३ दिनमा झारिसकेको छ । नमिलेका विषय सच्याउन यसअघि कायम ३ दिनको समयलाई २ दिनमा झारिएको छ ।

राष्ट्रिय सभामा निर्वाचनबाट चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भएपछि ३२ सिटका लागि मात्रै निर्वाचन हुन लागेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य ३ जनासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।

प्रदेश २ को ८ वटै सिट निर्विरोध भएका कारण उक्त प्रदेशमा चुनाव हुनेछैन । प्रदेश ३ र ६ मा मात्रै सबै पदमा निर्वाचन हुने भएको छ । प्रदेश १ मा दलितको १ र अपांगता वा अल्पसंख्यकको १ पद गरी जम्मा २ सिटका लागि, प्रदेश ४ मा अन्य समूहको ३, महिला ३ तथा दलित १ सिटमा निर्वाचन हुनेछ । प्रदेश ५ मा अन्य समूहका ३, दलित १ र अपांगता वा अल्पसंख्यक १ गरी ५ पदमा तथा प्रदेश ७ मा दलित १ र अपांगता भएका वा अल्पसंख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने आयोगले जनाएको छ ।

मतदानमा एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणाली अपनाइएको छ । एक जना सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै तथा महिला र अन्य समूहको ३/३ जनाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट हुनेछ । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् । प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको छ ।

प्रमुख आयुक्त यादवले सुझबुझ र धैर्यसाथ मतदान गर्न आग्रह गरेका छन् । ‘एक जनाले खसालेको मत बदर हुनु १८ वा ४८ मूल्यको मत बदर हुनु हो,’ उनले भने, ‘मतदान गर्ने बेला आफ्नो मत बदर नहोस् भन्नेतर्फ मतदाताहरू संवेदनशील हुनुपर्छ ।’ उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । आयोगले गणनाका लागि दक्ष जनशक्तिसमेत मतदान केन्द्रहरूमा पठाइसकेको उनले जानकारी दिए । आयोगले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय खोलेको छ ।

आयोग प्रवक्ता सहसचिव नवराज ढकालले निर्वाचन अधिकृत कार्यालय रहेकै स्थानमा मतदान केन्द्र तोकिएको बताए । प्रत्येक मतदान केन्द्रमा प्रदेशसभा र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताहरूका लागि अलगअलग मतदान केन्द्र निर्धारण गरिएको छ । उनका अनुसार बहुमतीय प्रणालीबाट मतदान हुने समूहका लागि दिइने मतपत्रमा मतदाताले आफूले मतदान गर्न चाहेको व्यक्तिलाई रेजा चिह्न लगाई मतदान गर्नुपर्नेछ ।

एकल संक्रमणीय प्रणालीबाट मतदान हुने समूहको हकमा भने मतदाताले आफूले रोजेको उम्मेदवारको नाम अगाडि निर्धारित बक्समा प्राथमिकताक्रम १, २, ३ लेखी मतदान गर्नुपर्ने उनले बताए । महिला र अन्य समूहमा उक्त प्रणाली लागू हुने र दुवै समूहमा ३/३ जना निर्वाचित हुने भएकाले प्राथमकिताक्रम ३ वटा तोकिएको हो । बहुमतीय तथा एकल संक्रमणीय दुवै मत प्रणालीबाट भएका मतदानमा एकजनाले गरेको मतको मूल्य प्रदेशसभाका सदस्यको हकमा ४८ तथा स्थानीय तहका प्रतिनिधिको हकमा १८ गणना हुने ढकालले जानकारी दिए ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्