१ सय ३ वर्षका भूपू सैनिक परेडमा उत्रेपछि …!
चितवन : नेपाली सेनाले भूपू सैनिक सम्मेलन एवं स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाली सेना सैनिक कल्याणकारी बोर्डको आयोजनामा श्री मध्य पृतना हेटक्वाटर चितवनमा आयोजित सम्मेलनको प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले देशको सार्वभौमक्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा गर्दै आएको र सदैव रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सरकारले दिएको सबै खालका जिम्मेवारीले नेपाली सेनाले पूरा गर्दै आएको र संस्थाको छविलाई थप उचाइमा प¥याउन सेनाको भूमिका निरन्तर रहेको उल्लेख गर्नुभयो । प्रधानसेनापति क्षत्रीले नेपालको संविधानअनुसार प्रादेशिक नेपाली सेनाको संरचना तयार गरी जिम्मेवारी पूरा गरिरहेको र तीनै तहको निर्वाचन स्वतन्त्र र निष्पक्षरुपमा सफलतापूर्वक सम्पन्न गर्न पाउँदा गौरवान्वित अनुभूति गरेको बताउनुभयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन नेपाली सेना सफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले उत्तरी नाका र जिल्ला सदरमुकाम जोड्ने र काठमाडौँ–तराई निर्माण दू्रतमार्ग निर्माणजस्तो राष्ट्रिय गौरवको काम सुम्पेको छ, यसलाई चुनौती र अवसर दुवैका रुपमा लिएका छौँ ।” नेपाली सेना सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत तथा अवकाश प्राप्त रथी चित्रबहादुर गुरुङले भूपू सैनिको आर्थिक उन्नति र समृद्धिका साथै भूपू र बहालवाला सैनिकबीच सुमधुर सम्बन्ध बनाउन सम्मेलन जरुरी रहेको बताउनुभयो ।
अवकाशप्राप्त पूर्वरथी बालानन्द शर्माले कल्याणकारी कोषबाट भूपू सैनिकको सामाजिक जीवन उकास्ने हुँदा लघुउद्यम कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । ‘आर्थिक प्रगति, समुनति र सर्वोपरि हितका लागि काम गरौँ’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनको मुख्य उद्देश्य भूपू सैनिकको जीवनमा सैनिक कल्याणकारी कार्यबाट थप ऊर्जा ल्याउन, आपसमा भेटघाट गर्नु, अनुभव सुन्नु र प्रेरणाले अघि बढ्नु रहेको थियो ।
नेपाली सेनाले विश्व शान्तिका स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेना सहभागी आएर आएको रकमबाटै सैनिक कल्याणकारी कोषको स्थापना भएको हो । विसं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट कोषको औपचारिकरुपमा स्थापना गरिएको हो । २०७४ पुस मसान्तसम्म कोषमा कूल रु ४२ अर्ब तीन करोड ३८ लाख ६९ हजार रहेको छ ।
१०३ वर्षे भूपू सैनिक अभिनन्दित
नेपाली सेनाले चितवनमा आयोजना गरेको भूपू सैनिक सम्मेलनमा १०३ वर्षका ज्येष्ठ भूपू सैनिकलाई गणेशबहादुर अधिकारीलाई प्रधानसेनापति क्षत्रीले दोसल्ला र प्रमाणपत्रबाट अभिनन्दन गर्नुभयो । भूपू सैनिक अधिकारीले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड सैनिकमा बिताएको र त्यो कार्यको सम्मानस्वरुप आफूलाई अभिनन्दन गरेकामा खुशी व्यक्त गर्नुभयो । भूपू सैनिकमध्ये अहिलेसम्मकै ज्येष्ठ अधिकारी नै हुनुहुन्छ ।
लघुउद्यम गर्नेलाई कोषबाट कर्जा
सम्मेलनमा प्रधानसेनापति क्षत्रीले लघुउद्यम गर्ने भूपू र बहालवाला सैनिकलाई रु एकदेखि सात लाखसम्मको चेक हस्तान्तरण गर्नुभयो । लघुउद्यम गर्नेमा भूपू सैनिक पाँच, बहालवाला सैनिक पाँच र उत्कृष्ट व्यवसाय गरिरहेका पाँच जनालाई सो चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा लघुउद्यम सञ्चालन गरेर राम्रो गर्नेलाई सम्मानसमेत गरिएको थियो । नेपाली सेना सैनिक कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बंैकको समझदारीमा लघुउद्यम कार्यक्रम सञ्चालनमा आएको छ ।
‘अस्पताल चाहियो’
नेपाली सेनाले चितवनमा आयोजना गरेको भूपू सैनिक सम्मेलनमा भाग लिन आएका भूपू सैनिक र सैनिक परिवारले प्रधानसेनापति क्षत्रीसँग प्रत्यक्ष भेटवार्ता गरी काठमाडौँ उपचार गर्न टाढा भएकाले चितवनमा सैनिक अस्पताल बनाउन माग गरेका थिए । प्रधानसेनापति क्षत्रीले सैनिकको चाहना र आवश्यकताअनुसार औषधोपचारलाई विकेन्द्रीकरण गरेर लैजाने उद्देश्यका साथ प्रदेश नं ५ को नेपालगञ्जमा क्षेत्रीय सैनिक अस्पताल निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको सुनाउनुभयो ।
साथै प्रदेश नं १ को इटहरी, प्रदेश नं ४ को पोखरामा पनि क्षेत्रीय अस्पताल निर्माण गर्ने कार्य भइरहेको र आवश्यकता परेमा यहाँ पनि सैनिक अस्पताल निर्माण गर्न सकिने सुनाउनुभयो । सम्मेलनमा तीन हजार ७२३ भूपू सैनिक र बहालवाला गरी चार हजार सहभागी भएका थिए । सम्मेलनका अवसर पारेर यही माघ १८ गतेदेखि सञ्चालन गरिएको स्वास्थ्य शिविरमा एक हजार ९५४ बिरामीले उपचार गराएका थिए ।