प्रदेश ७ को पहिलो बैठक सम्पन्न , समृद्धिका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता
सिद्धराज भट्ट÷शेरबहादुर सिंह
२१ माघ २०७४, आईतबार ००:००
धनगढी : प्रदेश नं ७ को धनगढीमा आज बसेको पहिलो प्रदेशसभा बैठकमा बोल्ने सांसदले यो प्रदेशका समृद्धिका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । वक्ताहरुले प्रदेश नं ७ (सुदूरपश्चिम) मा अनेक सम्भावना रहेको बताउँदै त्यसका लागि सबै मिलेर पहल गर्नुपर्नेमा जोड दिए ।
प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्येश्वरी शाहको अध्यक्षतामा भएको उक्त बैठकका पहिलो वक्ता बाजुराबाट निर्वाचित सांसद प्रकाश शाहले प्रदेश नं ७ जलविद्युत्, वनसम्पदा, जडीबुटी लगायतका प्राकृतिक स्रोतमा अन्य प्रदेशको तुलनामा धनी रहेको बताउँदै त्यसको सदुपयोगमा जोड दिए । “राजनीतिभन्दा माथि उठेर प्रदेशको विकासमा लाग्यौं भने हामी सबैभन्दा धनी प्रदेशका नागरिक बन्न सक्छौं,” शाहले भने – “समृद्धिको ढोका खोल्न पुराना संस्कार र व्यवहारमा परिर्वतन गर्न जरुरी छ ।” जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्ने नसके जनतामा निराशा छाउने र संघीय लोकतान्त्रिक व्यवस्थामा संकटमा आइपर्नसक्ने उनको भनाइ थियो ।
डोटीबाट निर्वाचित सांसद भरतबहादुर खड्काले पनि समृद्धिका लागि एकजुट भएर लाग्नुपर्ने मै जोड दिए । “प्रदेशको समृद्धि कसरी हासिल गर्ने भन्नेतर्फ सबै अन्तरआत्माबाट लाग्नु आवश्यक छ,” खड्काले भने – “राज्यको पहुँचबाट ढाटा रहेको हाम्रो प्रदेशमा प्रशस्त सम्भावना छन् ।”पश्चिम सेती परियोजना अगाडि बढाउन प्रदेशसभाबाट प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै उनले भने – “यहाँको सुकुम्बासी समस्या समाधान, धनगढी विमानस्थलको स्तरोन्नति लगायतका विकासका मुद्दालाई मूर्त रुप दिन लाग्नुपर्छ ।”
डोटीबाटै निर्वाचित अर्का सांसद त्रिलोचन भट्टले प्राकृतिक स्रोतको सही व्यवस्थापन गर्न सकिए प्रदेश नं ७ समृद्ध हुने बताए । यस प्रदेशमा कर्णाली, पश्चिम सेती, पञ्चेश्वर लगायतका ठूला जलविद्युत्का परियोजना रहेको पनि उनले उल्लेख गरे । उनले भने – “वैज्ञानिक कृषि प्रणालीमार्फत किसानका लागि गर्व गर्ने नीति ल्याउन जरुरी छ ।” शिक्षाको उचित व्यवस्थापनका लागि उचित नीति र साझा एजेण्डा बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय जनता पार्टीका सांसद मालामती राना थारुले राना थारु समुदायको संविधानमा असन्तुष्टि रहेकाले संशोधनका लागि पहल हुनुपर्ने बताईन् । “कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी रेशमलाल चौधरीलाई वारिसनामा मार्फत विजयको प्रमाणपत्र बुझाउने व्यवस्था गरियोस्,” उनले भनीन् – “टीकापुर घटनामा सरकारद्वारा गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गर्छु ।” उनले टीकापुर घटनाका बेला थारु समुदायमाथि ज्यादती भएको भन्दै दोषीमाथि कारबाहीको माग पनि गरीन् ।
बैठकको शुरुमा सभामुखको भुमिकामा रहेका ज्येष्ठ सदस्य शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । दिउँसो १ बजे डाकिएको बैठक आधा घण्टा ढिलो शुरु भएको थियो । बैठकले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ लाई पारित ग¥यो । कार्यविधि अनुरुप प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २९ दिउँसो १ बजे तोकिएको जानकारी पनि शाहले गराए ।
सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाँच सदस्य मनोनयन गरिएको छ । मनोनीत हुने सदस्यहरुमा माया भट्ट, देवराज पाठक, वीरमान चौधरी, कृष्णबहादुर चौधरी र पुर्णा जोशी छन् । प्रदेशसभाको अर्को बैठक आगामी माघ २९ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।