Logo
३ आश्विन २०८१, बिहीबार
(February 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विस्थापित परिवारलाई एकीकृत बस्तीमा पुनर्स्थापना

नुवाकोट : भूकम्पसँगै गएको सुक्खा पहिराले विस्थापित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनर्स्थापनाका लागि एकीकृत बस्ती निर्माणको काम सुरु गरेको छ । भौगर्भिक तथ्यांकअनुसार विभिन्न बस्तीबाट विस्थापितमध्ये दुई स्थानका ६५ परिवारलाई प्राधिकरणले जग्गा खरिद गरी एकीकृत बस्तीको निर्माण प्रक्रिया अघि बढाएको छ ।

तादी गाउँपालिका–१ उर्लेनीबाट विस्थापित ७२ परिवारमध्ये ५१ र सूर्यगढी गाउँपालिका–१ लच्याङका १४ परिवारका लागि सुरक्षित स्थानमा जग्गा खरिद गरी हस्तान्तरण गरिएको छ । उर्लेनीबाट विस्थापितलाई तादी–३ खरानीटारमा जग्गा गरिद गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए ।

उनका अनुसार लच्याङबाट विस्थापितलाई सूर्यगढी–४ हल्देकालिकामा जग्गा खरिद गरी तिनका नाममा जग्गाधनी प्रमाणपत्र पुर्जा (लालपुर्जा) प्रदान गरिएको छ । वितरण गरिएको प्रमाणपत्र संयुक्त (श्रीमान/श्रीमती दुवैका नाममा) छ ।

‘राष्ट्रिय पुनर्निर्माण कार्यविधि २०७२’ मा १० भन्दा बढी लाभग्राही घर परिवारले एकै स्थानमा आवास निर्माण गर्न चाहेमा प्रतिपरिवार रु चार लाखसम्म लगानी गरिने प्रावधान छ । एकीकृत बस्तीका लागि सडक, विद्युत्, खानेपानी, विद्यालय, खेल मैदानलगायत पूर्वाधार विकास सरकारी पहलमा हुने व्यवस्था छ ।

पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूकम्प र त्यसपछिको पहिराले बस्ती जोखिममा पुर्‍याएकाले जिल्लाका उर्लेनी, घ्याङ्फेदी, लच्याङ, महाकाली, किम्ताङ र साल्मेका ३२१ परिवार पुनर्स्थापना गर्नुपर्ने देखिएको छ । रासस

प्रकाशित मिति: Feb 3, 2018

प्रतिक्रिया दिनुहोस्