Logo
७ मंसिर २०८१, शुक्रबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डसँग खाजा र प्रधानमन्त्रीसँग लञ्च गरेर फर्किन् स्वराज

काठमाडौँ : भारतीय विदेश मन्त्री सुष्मा स्वराज २४ घण्टे नेपाल बसाईपछि स्वदेश फर्केकी छन् । निकै कम समयका लागि काठमाडौँ आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराज राष्ट्रपति, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर शुक्रबार दिउँसो नयाँ दिल्ली फिर्ता भएकी हुन् ।

प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको लञ्च बैठकमा भारतीय विदेशमन्त्री स्वराजले नयाँ संविधानअन्तर्गत संघीय संसद, प्रदेशसभा र स्थानीय तह गरी तीनै तहको निर्वाचन सम्पन्न गरेकामा बधाई दिन आफू आएको बताएकी थिइन् ।प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराईका अनुसार भारतका विदेशमन्त्रीले प्रधानमन्त्रीलाई शीष्टाचार भेट गर्दै नेपाल भारत सम्बन्धका विविध पक्षबारे कुरा गरेकी थिइन् ।

सम्बन्धलाई प्रगाढ र सुदृढ बनाउन दुवै पक्षले गर्नुपर्ने कामका विषयमा बैठकमा कुराकानी भएको थियो । ‘नयाँ संविधानअन्तर्गत गरेको तीनै तहको चुनावको बधाई दिन आएको भन्नुभयो,’ बालुवाटारमा प्रधानमन्त्रीलगायत सरकार उच्च अधिकारीसँग करिब एक घन्टा लामो लञ्च बैठकबारे प्रेसलाई जानकारी दिँदै भट्टराईले भने ।

नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन धेरै कुरा भएको जानकारीसमेत भट्टराईले दिए । लोकतन्त्र संस्थागत होस् भनेर स्वराजले नेपाली पक्षलाई शुभकामना दिएकी थिइन् । भट्टराईका अनुसार नेपाल भारत सम्बन्धका विविध पक्षबारे नेपालले आफ्नो प्रतिबद्धता बैठकका क्रममा राखेको थियो ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्