Logo
४ आश्विन २०८१, शुक्रबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैले यति सुन्दर देश कहीँ पनि देखेको छैन : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतमबुद्धको जन्मस्थल तथा भौगोलिक विविधतायुक्त नेपाल विश्व पर्यटनका लागि आकर्षक गन्तव्य भएको बताउनुभएको हो ।

“नेपाल विश्वकै रमणीय र सुन्दर देश हो, मैले यति सुन्दर देश कहीँ पनि देखेको छैन, यस्तो सुन्दर देशमा पर्यटकको आकर्षण बढ्ने कुरा स्वभाविक हो,” प्रधानमन्त्री देउवाले भन्नुभयो – “पर्यटक नेपाल आउन चाहन्छन् र आइरहेका पनि छन् तर अझै पर्यटकलाई दिनुपर्ने सुविधा अपुग छ, खर्चालु पर्यटकका लागि राम्रो बास र सुविधा दिनसके अझै पर्यटक बढ्छन् ।” उहाँले नेपाल जस्तो सुन्दर देशमा जतिसक्दो बढी पर्यटकलाई आकर्षण गर्नसके त्यति नै विदेशी मुद्रा भित्रिने बताउँदैै पर्यटकको स्वागत, सत्कार र गुणस्तरीय सेवालाई व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस कहिल्यै हार्दैन, उम्मेदवार मात्र हारे

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले काँग्रेस पार्टी कहिल्यै नहार्ने बताउनुभएको छ । “काँग्रेस हारेको छैन र कहिल्यै हार्दैन, सिद्धान्त र आदर्श हार्दैन, पार्टीका उम्मेदवार चाहिँ हारेका छन्, यस सम्बन्धमा छिट्टै नै केन्द्रीय समितिमा छलफल गर्नेेछु,” उहाँले भन्नुभयो । सभापति देउवाले सिद्धान्त र आदर्श राम्रो बोकेको पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेको उल्लेख गर्दै त्यही सिद्धान्त र विचारलाई व्यापक जनतामाझ लगेर पार्टीलाई अझ बलियो बनाई भविष्यमा कहिल्यै नहार्ने गरी लैजानुपर्छ भन्नुभयो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन क्षेत्र नै भएकाले यसको प्रवद्र्धनका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा जातीय आधारमा भातृ संस्था बनाउनेभन्दा पनि व्यावसायिक संस्थालाई पार्टीको शुभेच्छुक संस्था बनाएको खण्डमा पार्टी स्वस्थ्य र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनार्थ सरकारले सगरमाथा क्षेत्रमा निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेको र त्यसका लागि बजेट विनियोजन भई काम शुरु भइसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटकको सुविधालाई मध्यनजर गरी सरकारले सगरमाथा र अन्नपूर्ण आधार शिविर परिसर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेर बजेट विनियोजन गरिसकेको र चाँडै नै यो कार्यान्वयमा आउनेछ ।” मन्त्री बस्नेतले यसबाट आरोहणका क्रममा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न र सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वमन्त्री दीपक खड्काले समग्र काँग्रेसलाई पुनर्ताजगी दिलाउन पर्यटन व्यवसायीको पहल सकारात्मक भएको उल्लेख गर्नुभयो । संघका अध्यक्ष दीपक महतले काँग्रेसका भ्रातृ संस्थाको पुनर्जागरण गराउन र पर्यटन व्यवसायमा आबद्ध शुभेच्छुक संस्थामा ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा काँग्रेसकातर्फबाट विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री, पार्टीका केन्द्रीय सदस्य, सांसद तथा भ्रातृ संस्थाका प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याउने विभिन्न पर्यटन व्यवसायीलाई सम्मान गर्नुका साथै पत्रकार अशोक सिलवाललाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो ।(रासस)

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्