Logo
९ मंसिर २०८१, आईतबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वराजसँग आपूर्ति समस्याको बारेमा कुरा गरिदिन सिमेण्ट उद्योगीको आग्रह

वीरगञ्ज : विगत एक महीनाभन्दा लामो समयदेखि कच्चा पदार्थको आपूर्तिमा समस्या झेलिरहेका उद्यमीले सरकारलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई स्वदेशी सिमेण्ट उद्योगले भोगिरहेको समस्या समाधानमा उपयोग गर्न बारा र पर्साका सिमेण्ट उद्योगीले आग्रह गरेका छन् ।  भारतीय विदेशमन्त्री सुष्मा स्वराज २ दिने भ्रमणका लागि बिहीवार नेपाल आउँदैछिन् । भारतीय मन्त्रीको भ्रमणमा नेपाली पक्षले अहिले बारा÷पर्साका सिमेण्ट उद्योगले सामना गरिरहेको समस्या निकासका लागि प्रभावकारी पहल गर्नुपर्ने उद्यमीहरूको भनाइ छ ।

सरकारले यो भ्रमणमा प्रभावकारी कुटनीतिक पहल गरी स्वदेशी सिमेण्ट उद्योगले भोगिरहेको समस्याको निकास पहिल्याउनुपर्ने बारा–पर्सा सिमेण्ट उत्पादक सङ्घका अध्यक्ष अशोककुमार वैदले बताए । ‘हामीले सरकारका सम्बद्ध अधिकारीहरुलाई आग्रह गरिसकेका छौं । भारतीय विदेशमन्त्रीको यो भ्रमण उद्योगका समस्या समाधानमा फलदायी हुनेछ भन्नेमा आशावादी छौं,’ नेपाल–भारत सहयोग मञ्चका अध्यक्षसमेत रहेका वैदले भने ।

भारतीय रेल्वेले गत डिसेम्बर २२ यता आफ्नो रक्सौल यार्डमा क्लिङ्करको लोडअनलोड बन्द गरेपछि वीरगञ्ज क्षेत्रका १३ ओटा सिमेण्ट उद्योगलाई कच्चा पदार्थको आपूर्ति सकसपूर्ण बनेको छ । अहिले ती उद्योगमा रक्सौलबाट १ सय २५ किलोमीटर टाढाको भारतकै मुजफ्फरपुरनजीकै नारायणपुरबाट क्लिङ्कर ढुवानी भइरहेको छ । यसबाट उत्पादन लागत बढी पर्न गएको उद्यमीको भनाइ छ ।

तत्कालका लागि सविकको रक्सौलमै अनलोडको व्यवस्था मिलाएर दीर्घकालका लागि स्वदेशमा स्थानको व्यवस्था गर्नुपर्ने उद्योगीको आग्रह छ । वीरगञ्ज उद्योग वाािणज्य सङ्घका सचिव माधव राजपालले सरकारले भारतीय विदेशमन्त्रीलाई यसबारेमा आग्रह गर्नुपर्ने बताए । क्लिङ्कर लोडअनलोडका कारण प्रदुषण बढेको भन्दै स्थानीयको अवरोध र त्यहाँको अदालतको आदेशका कारण रेलवेले रक्सौलका लागि लोडिङमा रोक लगाएको थियो । आर्थिक अभियानका अनुसार प्रदुषण नियन्त्रणको उपाय अपनाएर तत्कालका लागि रक्सौलमै अनलोडको व्यवस्था मिलाइनुपर्ने उद्योगीको माग छ ।

विगतमा उद्योगी वैदले भारतीय जनप्रनिधिमार्फत त्यहाँको विदेश मन्त्रालयमा यो समस्याका बारेमा जानकारी पठाएर समाधानको आग्रह गरेका थिए । स्वदेशी सिमेण्ट उद्योगको समस्या निकासमा भारतीय पक्ष सकारात्मक रहेको बुझाइ उद्यमीहरूको छ ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्