प्रधानमन्त्री देउवाद्वारा शहिदप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले शहिद पार्कमा पुगी शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहिद सप्ताह मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहिद पार्कमा पुगी ज्ञातअज्ञात शहिदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, रक्षामन्त्री, कामपाका प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको सहभागिता रहेको थियो। सभाका एक सहभागी रेश्मा शाक्यले जुन कारणले शहीदले आफ्नो शरीरलाई बलिदान गरे त्यस किसिमको भावना बुझ्न नसकेसम्म उनीहरुप्रतिको सच्चा सम्मान नहुने बताए ।
शहिद सप्ताहअन्तर्गत माघ १० गते बिहान ८ बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको हो । त्यस्तै, माघ १३ गते बिहान सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको थियो ।
आज शहिद दिवशका दिन बिहान ८ बजे शान्तिबाटिका रत्नपार्कबाट प्रभातफेरि शुरु गरी प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि बिहान ९ बजे शहिद स्मारक पुगेको थियो ।
विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो ।