मुख्यमन्त्री र सभामुखबारे यसरी भयो एमाले-माओवादीबीच भागबन्डा
काठमाडौं : एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ ।
कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । तर, उपसभामुख भने माओवादीले चार वटा र एमालेले दुई वटा प्रदेशमा पाउनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगाएको हो ।
सहमति अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ ।
प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले पाएको छ । प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई नदिन एमाले नेताहरुले नेतृत्वलाई चर्को दबाव दिएका थिए ।
यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले लिनेछ । एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुनेछन् ।