Logo
९ मंसिर २०८१, आईतबार
(January 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाध्यताले सुरक्षाका लागि सिन्दूर लगाउँछन् एकल महिला

मंगलसेन : साँफेबगर नगरपालिका–९ भागेश्वरकी ३० वर्षीया दूधकला विष्टले दुई सन्तानको जन्म दिई श्रीमान् गुमाउँदासम्म कानुनी रूपमा उनको बिहे गर्ने उमेर पुगेकै थिएन । १७ वर्षमा बिहे गरेकी उनले साढे दुई वर्षमै श्रीमान् यज्ञमान गुमाउनुपर्‍यो । त्यसयताको समय उनका लागि संघर्षपूर्ण रह्यो । श्रीमान् बितेको पाँच महिनापछि दूधकलाले छोरी जन्माइन् । उनको पहिलो सन्तानका रूपमा एउटा छोरा छ । श्रीमानको निधन र बालबच्चाको लालनपालन गर्दागर्दै उनको उच्चशिक्षा पढ्ने इच्छा अधुरै रह्यो ।

दुई सन्तानको लालनपालन र शिक्षादीक्षाका लागि खर्च जुटाउन उनले गाउँकै चन्द्रोदय प्राविमा चार वर्ष पढाइन् । निजी स्रोतको दरबन्दीमा पढाएकी उनलाई त्यसबापतको तलबले जीवन धान्नै मुस्किल भयो । पछि गाउँमै सामाजिक परिचालिकाका रूपमा पनि केही महिना काम गरिन् । अहिले दूधकला गाउँबाट एक दिनको पैदल दूरीमा पर्ने देवीस्थानमा रहेको एक गैरसरकारी संस्थामा सामाजिक परिचालिकका रूपमा काम गर्छिन् । तर समाजले घर छाडेर बाहिर हिँड्ने महिलालाई राम्रो दृष्टिले हेर्दैन । त्यसमाथि एकल महिला हुँदा झनै समस्या आउने गर्छ ।

तर उनले त्यस्ता लाञ्छनाको कुनै प्रवाह गरेकी छैनन् । दूधकला भन्छिन्, ‘एकल महिलालाई समाजमा जिउनै मुस्किल भए पनि सासूससुराकोे साथले भने सजिलो भएको छ ।’ उनी जागिर गर्ने भएपछि छोराछोरीको हेरचाह उनकी सासूले गर्दै आएकी छन् ।

‘सिन्दूर लगाएरै हिँड्छु’
१८ वर्षकै उमेरमा बिहे गरेकी हरिना राना (कुँवर) अहिले २९ वर्षकी भइन् । साँफेबगर नगरपालिका चण्डिका घर भएकी उनका दुई नाबालिका छोरी छन् । २६ वर्षकै उमेरमा श्रीमान् निलेश कुँवरको निधनले हरिना विक्षिप्त बनिन् । त्यसमाथि दुई छोरीको शिक्षा र लालनपालन कसरी गर्ने भन्ने चिन्ता । एक्लो जीवन जिउन जति संघर्ष गर्नुपरेको छ त्यसभन्दा बढी संघर्ष उनले एकल महिलाप्रति हेर्ने सामाजिक दृष्टिकोण चिर्न गर्नुपरेको छ । ‘कलिलै उमेरमा एक्लो हुनुपर्दा आफूभित्रको पीडा त कति छ कति ।

त्यसमाथि समाजले राम्रो लगाए, बाहिर हिँडडुल गरे भनेर कुरा काटेर झनै पीडा थप्ने काम गरिदिन्छ’, उनले भनिन् । रातो पहिरन लगाउँदा समाजले राम्रो नमान्ने र सेतो लगाएर हिँड्दा पनि लोग्ने मान्छेबाट जोगिनै मुस्किल रहेको उनको भनाइ छ । ‘विधवाले सिन्दूर नै लगाएर हिँड्यो भन्छन् तर आफ्नो सुरक्षाका लागि भए पनि म त सिन्दूर लगाएरै हिँड्छु’, उनले भनिन् । रामारोशन गाउँपालिकाले यस वर्ष एकल महिलाका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

एकल महिलालाई समाजमा रमाइलो गर्ने खासै छुट छैन । तर उनलाई नाचगान गर्न मन पर्छ । मनले चाहेको गर्नुपर्छ भन्ने सोच बोकेकी हरिना नाचगानमा सहभागी हुँदा आफूबारे धेरैले नराम्रो भनेको सुनेको बताउँछिन् । श्रीमान् गुमाए पनि छोराछोरीका लागि उमंगमय वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

श्रीमान् बितेपछि घर धान्न, सन्तानको पालनपोषण र शिक्षादीक्षामा समस्या आएपछि श्रीमान् कर्मचारी भएको राष्ट्रिय अनुसन्धान कार्यालय अछाममा जागिरका लागि निकै प्रयास गरिन् । तर पाइनन् । रोजगारीका लागि भौतारिँदाभौंतारिँदै अन्त्यमा स्थानीय बयलगडा अस्पतालमा केही महिना निःशुल्क काम गरेपछि अस्पतालले जागिरमा दियो । अहिले उनलाई जीवन धान्न केही सजिलो भएको छ ।

दूधकला र हरिना समाजका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्ता कलिलै उमेरमा श्रीमान् गुमाउने थुप्रै एकल महिला समाजमा जीवन जिउन निकै संघर्ष गर्दै आएका छन् । एकतर्फ एकल महिलाप्रति समाजले हेर्ने गलत दृष्टिकोणविरुद्ध लड्नुपर्ने चुनौती छ भने अर्कोतर्फ कलिलै उमेरमा जीवनसाथी गुमाउँदाको पीडा र सन्तानप्रतिको जिम्मेवारी बहन गर्नुपर्ने बाध्यताले एकल महिलाको जीवन निकै संघर्षपूर्ण बनेको छ ।

रूढीवादी सोचकै कारण एकल महिलालाई जिउन निकै गाह्रो परेको महिला अधिकारकर्मी तथा रामारोशन गाउँपालिकाकी उपप्रमुख सरस्वती रावलको भनाइ छ । ‘कलिलै उमेरमा एकल बनेका महिलालाई झनै समस्या छ’, रावलले भनिन, ‘ श्रीमान् बितेपछि परिवारबाटै हेला सुरु हुन्छ, बाहिर समाजको त कुरै छाडौं ।’ कतिपयले बुहारीलाई ‘पोइटोकुवा’ भनेर पनि लाञ्छना लगाउने गर्छन् ।

कमाउने छोरा बितेपछि छोराको अंशमा बुहारीले अधिकार जमाउँछे भनेर पनि कतिपय परिवारले एकल महिलालाई हेला गर्ने गरेको उनले बताइन् । यसै वर्ष गाउँपालिकाबाट एकल महिलाका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको रावलको भनाइ छ । एकल महिलाको तथ्यांक संकलन गरी उनीहरूको आवश्यकताका आधारमा उक्त रकम खर्च गर्ने उनको योजना छ ।

राज्यले पछिल्लो समय एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिन उमेरको हद हटाउँदा कलिलै उमेरमा एकल हुनेलाई केही राहत भएको जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत खडक विष्टले बताए भन्दै अन्नपुर्णमा खबर छ । राज्यले सामाजिक सुरक्षा भत्ताबापत एकल महिलालाई मासिक एक हजार रुपैयाँका दरले भत्ता दिँदै आएको छ । तर सबै एकल महिलाले यो सुविधा पाएका छैनन् ।

प्रकाशित मिति: Jan 27, 2018

प्रतिक्रिया दिनुहोस्