Logo
२१ कार्तिक २०८१, बुधबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभामा प्रतिनिधित्व शुन्य : मुस्लिम समदायमा आक्रोश

काठमाडौं : माथिल्लो सदन राष्ट्रिय सभामा मुस्लिम समुदायको प्रतिनिधित्व शुन्य हुने भएको छ । सातवटै प्रदेशबाट निर्वाचित हुने ५६ जनामा मुस्लिम समुदाय नपर्ने निश्चित भएको छ । साढे चार प्रतिशत जनसख्या रहेको मुस्लिम समुदायबाट राष्ट्रिय सभामा कुनै राजनीतिक पार्टी उम्मेदवार उठाएनन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीनजनामा बाहेक अब राष्ट्रिय सभा मुस्लिमको प्रतिनिधित्व नहुने भएको छ । राष्ट्रिय सभामा ८३ जनाको उम्मेदवारी परेको छ । त्यसमा एकजना पनि मुस्लिम उम्मेदवार छैनन्। एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय फोरम र राजपासहित ५ वटै राष्ट्रिय दलले एकजना पनि मुस्लिमलाई उम्म्देवार बनाएनन् । अर्कातिर राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा र संघीय समाजवादी पार्टीले राष्ट्रिय सभामा मुस्लिमलाई पत्याएनन् ।

एमालेका बैकल्पिक केन्द्रीय सदस्य मोहमद हारुन हलुवाईले राष्ट्रिय सभामा एकजना पनि मुस्लिम नपठाएर दलहरुले मुस्लिमको अपमान गरेको बताए । उनले राष्ट्रिय सभा जस्तो गरिमामय स्थानमा मुस्लिमको प्रतिनिधित्व नहुनु दुर्भाग्य भएको बताए । उनले राष्ट्रिय सभा मुस्लिमविहीन बनाउन खोजिएकोमा देशभरका मुस्लिम समुदाय आक्रोशित भएको बताए । उनले वाम गठनबन्धन प्रति अझ धेरै मुस्लिम समुदाय आक्रोशित भएको बताए ।

राजपा नेता अकवाल अहमद शाहले मुलुकमा भएका हरेका आन्दोलनमा मुस्लिम खेलेको भूमिकाको दलहरुले अबमुल्यन गरेको आरोप लगाए । उनले संविधानले व्यवस्था गरेको अधिकारलाई दलले कुल्चने काम गरेको आरोप लगाए । उनले सरकारद्वारा मनोनित तीनजनामा मुस्लिम समुदायलाई समावेश गर्नैपर्ने माग गरे ।

नेपाली कांग्रेसनिकट मुस्लिम संघ नेपालका अध्यक्ष अब्दुल सत्तारले हरेक आन्दोलनमा मुस्लिम समुदायको देन भए पनि राष्ट्रिय सभामा उपस्थिति शुन्य पार्नु गैर-जिम्मेवारपन भएको टिप्पणी गरे । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारीमा समेत मुस्लिम समुदायलाई उपेक्षा गरेको उनीहरुले आरोप लगाएका छन् । प्रदेश सभाको समानुपातिकमा समेत आफुहरुमाथि अन्याय भएको मुस्लिम समुदायको गुनासो छ ।

उनीहरुले प्रतिनिधि सभाको समानुपातिकमा समेत मुस्लिममा न्याय हुने कुनै लक्षण नदेखिएको भन्दै दुखेसो पोखेका छन् । समावेशी समानुपातिक सिद्धान्तलाई दलहरुले लत्याएको मुस्लिम समुदायको ठहर छ । यता, राजनीतिक दल निकट मुस्लिम संघसंगठनले राष्ट्रिय सभामा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार पत्रकार सम्मेलन गरेर राष्ट्रिय सभामा मुस्लिम समुदायको प्रतिनिधित्व हुने सम्भावना न्युन रहेको भन्दै उनीहरुले खबरदारी गरेका छन् ।

राष्ट्रिय सभा सदस्यको लागि कुनै राजनीतिक दलले मुस्लिम समुदायबाट उम्मेदवार नबनाएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीले राष्ट्रिय सभा मुस्लिम प्रतिनिधित्वविहीन हुन नसक्ने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्