Logo
२१ कार्तिक २०८१, बुधबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेल पाइपलाइन निर्माणका लागि पाइप नेपाल आउने क्रम सुरु

पर्सा : बहुप्रतिक्षित अमलेखजन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन निर्माणका लागि पाइप नेपाल आउने क्रम सुरु भएको छ । ४ अर्ब २० करोड रुपैयाँ लागतको यो परियोजनामा भारतले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्दै छ । भौतिक सामग्री भित्रिन थालेपछि लामो समयदेखि चर्चामा रहेको र निर्माण अन्योल बनेको यो बहुचर्चित परियोजनाको कामले गति लिने सम्भावना बढेको छ । पाइपलाइन निर्माणपछि रक्सौल वीरगन्ज हुँदै अमलेखगन्जसम्म त्रिभुवन राजपथमा टयांकरको चाप घट्नुको साथै नेपालको इन्धन ढुवानीमा बर्सेनि खर्च भइरहेको ठूलो रकम जोगिने छ । त्यसबाहेक इन्धनको चुहावट र मिसावटजस्ता समस्या पनि धेरै हदसम्म घट्ने सरोकारबाल बताउँछन् ।

वीरगन्ज भन्सार कार्यालयबाट पहिलो लटका आधा दर्जन गाडीले ल्याएका कालो स्टिल पाइप मंगलबार जाँच गरिएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार पाइप लाइन परियोजना निर्माणको जिम्मा पाएको इन्डियन आयल कर्पोरेसनले पाइप बोकेका आधा दर्जन लरीको जाँच गराएको छ । सबै पाइप बिनाभन्सार शुल्क जाँच गरी पठाइएको उनले बताए ।

भारत महाराष्ट्रको सिमलेस लिमिटेडमा उत्पादित पाइप यो परियोजनामा प्रयोग गरिँदै छ। वीरगन्ज भन्सार पारि जाँच्ने प्रक्रियाका लागि थप ७ वटा पाइप बोकेका लरीहरू प्रतीक्षारत छन् । तीमध्ये एक लरीका चालक शिव कुमारले आफूहरू मुम्बईस्थित पाइप उद्योगबाट जनवरी १४ तारेखबाट नेपालका लागि हिँडेको बताए । उनले प्रत्येक लरीमा ३२ देखि ३५ वटासम्म पाइप लोड गरिएको बताए । ‘सीमा पारि भारतीय राजमार्ग हुँदै पाइपालइन परियोजनाका पाइप बोकेका लरीहरू क्रमश: आउँदै छन्,’ उनले भने, ‘वीरगन्ज रक्सौल सीमामा लागेको जामका कारण हामीलाई नेपाल प्रवेश गर्न समय लाग्यो, नत्र झनै छिटो आइन्थ्यो ।’

 

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्