Logo
२१ कार्तिक २०८१, बुधबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोहिंग्या शरणार्थीलाई बंग्लादेशबाट आजदेखि स्वदेश फिर्ता गरिँदै

हाल बंग्लादेशमा रहेका म्यान्माली रोहिंग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिन राज्यका अधिकारीहरुसँग छलफल गर्न लागेकी छिन् । उनले उनीहरुको फिर्तीका लागि उक्त राज्यले अवलम्बन गर्नुपर्ने विशेष कार्यक्रमका बारेमा सल्लाह गरेको र त्यसका लागि आवश्यक कार्ययोजना पनि पारित गर्न लागेको बताइएको छ । म्यानमार र बंग्लादेशका अधिकारीहरुबीच रोहिंग्याको फिर्तीका लागि गत महिना नै सहमति भएको थियो। उक्त सहमति बमोजिम रोहिंग्यालाई बुधबारदेखि स्वदेश फर्काउने कार्यक्रम रहेको छ ।

उनीहरुलाई म्यानमार फिर्तागर्ने सहमति भएको एक दिनअघि सो विषयमा विदेशमन्त्री सुकीले आवश्यक कार्ययोजनाका लागि सल्लाह गर्न लागेकी हुन् । गत अगष्ट महिनामा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफि अन्नानको संयोजकत्वमा रहेको राष्ट्रसंघीय एक आयोगले प्रतिवेदन सार्वजनिकगर्दै रोहिंग्यालाई जतिसक्दो चाँडै स्वदेश फर्काउने वातावरण बनाउने सुझाव दिएको थियो । राखिन राज्यमा रोहिङ्ग्या मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र र बाहिर विस्थापित भएका छन् । गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको छ । सो विवादका कारण रोहिंग्याले देश छोडेका छन्। जसका कारण म्यानमारमा ठूलो राजनीतिक तनाव पनि सुरु भएको छ ।

अहिलेसम्म यहाँबाट भागेर बंग्लादेश पुग्ने नागरिकको सङ्ख्या छ लाख भन्दा बढी पुगेको छ। उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यवस्था नरहेको बताइन्छ । यता स्वदेशभित्रै आन्तरिक शरणार्थीे बनिरहेकाहरुको अवस्था पनि त्यस्तै छ। विस्थापित यी व्यक्तिहरू पहाडी इलाकामा बस्दै आएका छन् र खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन् । उता म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबीगर्दै आएको छ। सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको दावीगर्दै आएको छ ।

म्यानमारका विदेशमन्त्री एवं म्यानमार राज्यका राज्य सल्लाहकार आङ् सान सुकीले पनि उक्त समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादति गरेको भनी दुष्प्रचार मात्र गरिएको बताउने गरेकी छिन् । यस विषयमा छलफलका लागि राष्ट्रसंघीय सुरक्षा परिषदले पनि बारम्बार छलफलगर्दै आएको छ। राष्ट्रसंघको दवाबका कारण पनि रोहिंग्यालाई स्वदेश फर्काउने निर्णयमा दुवै देश पुगेका हुन् । म्यानमार सरकारले गत डिसेम्बर १४ मा एक सल्लाहकार परिषदको गठन गरेको थियो। म्यानमार र थाइल्याण्डका उच्च अधिकारीहरुको सहभागितामा निर्माण गरिएको सो परिषदले रोहिंग्याको फिर्ताका लागि केही काम गरेको थियो ।

त्यस विषयमा मंगलबार सुकीले बोलाउनुभएको बैठकमा छलफल हुने बताइएको छ। सो बैठकमा उनीहरुको फिर्तीका लागि आवश्यक कार्ययोजनाका बारेमा तयारी गरिने पनि जानकारी दिइएको छ ।

सुरक्षामाग्दै प्रदर्शन
यसैबीच उता बंग्लादेशमा रहेका ती शरणार्थीले आफूहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्ने मागगर्दै प्रदर्शन गरेका छन् ।बंग्लादेशको कोक्स बजार क्षेत्रमा शरणार्थी शिवीरहरुमा बस्दै आएका उनीहरुले आफूहरुलाई स्वदेश फर्काउन लागिएको अघिल्लो दिन आफूहरुलाई स्वदेश फर्काइएपछिको सुरक्षाको सुनिश्चितता मागगर्दै प्रदर्शन गरेका हुन् । स्वदेश फर्किएपछि पनि सेनाले आफूहरुलाई बस्न र सुरक्षाको प्रत्याभूति दिनेमा आफूहरु ढुक्क हुने अवस्था नरहेको उनीहरुको भनाई छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्