साँस्कृतिक कार्यक्रमबाट क्यान्सर पिडितलाई डेढ लाख सहयोग
सुनसरी : क्यान्सर रोगी तुलसामाया मगरको उपचार सहयोगार्थ आयोजित कार्यक्रममा करिव डेढलाख रुपैँया संकलन भएको छ । सुनसरीको तरहरामा शनिबार भएको साँस्कृतिक कार्यक्रममा सो रकम संकलन भएको हो । कार्यक्रममा संकलन भएको सो रकम कार्यक्रमकै दौरानमा मगरको परिवारका सदस्यहरु र स्थानीय बुद्विजीवीहरुको रोहवरमा हस्तान्तरण गरिएको थियो ।
इटहरी २० तरहरा बुद्वचौकमा बसोबास गर्ने मगर बौद्विक अपांग हुनुहुन्छ। करिव ६महिनादेखि क्यान्सरबाट पिडित हुनुभएकी मगर उपचार अभावमा नारकीय जीवन बिताउन बाध्य हुनुहुन्थ्यो । क्यान्सर पीडित तुलसाको उपचारार्थ आर्थिक सहयोग संकलन गर्न तरहराका सकृय युवाहरुको सँस्था हितेषी परोपकार केन्द्रले तामाङ्ग समुदायको ल्होसार पर्वको अवसरमा साँस्कृतिक कार्यक्रम गरेर उपचार रकम संकलन गरेको हो ।
कार्यक्रममा पूर्वेली गायक सपन श्रेष्ठ, नबिन गुरुङ्ग(गुरुङ्ग सोल्टी), धरानको बदमास ब्याण्ड, धराने गायक दिलु राई र तरहराका स्थानीय ब्याण्डका कलाकारहरुले सांगितिक प्रस्तुती दिनुका साथै धरानको गरिमा डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । सँस्थाका अध्यक्ष मनोज तामांको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २०का वडाध्यक्ष मणीराम श्रेष्ठ प्रमुख अतिथी हुनुहुन्थ्यो। कार्यक्रममा हितेसी परोपकार केन्द्रका बरिष्ठ सल्लाहकार तेञ्जी लामा, प्रहरी चौकी तरहराका प्रमुख प्रहरी नायव निरिक्षक पहल बहादुर कटवाललगायत अतिथी हुनुहुन्थ्यो ।