कृषि बैंकबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह गरेको खुलसा
काठमाडौँ : कृषि विकास बैंक लिमिटेडले आव २०७३÷७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३÷७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११।२६ प्रतिशत, साँवा असुली १३।४२ प्रतिशत, ब्याज असुली १७।६६ प्रतिशत तथा निक्षेप संकलनमा १३।८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३÷७४ को माघ मसान्तसम्ममा निक्षेप रकम रु ९९ अर्ब ९३ करोड रहेको बैंकले जनाएको छ ।
बैंकका कार्यकारी अधिकृत लीला प्रकाश सिटौलाका अनुसार बैंकले स्थापनाकालदेखि हालसम्म कूल रु आठ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको अहिलेसम्मको कर्जा असुली रु सात खर्ब ७० अर्ब रहेको छ । हाल बैंकको करिब रु एक लाख ५१ हजार कर्जा ग्राहकमा रु ९५ अर्ब २० करोड कर्जा लगानी छ ।
साथै, चालू आव २०७४÷७५ को अन्त्यसम्ममा व्यवसायको आकारमा वृद्धि गर्ने लक्ष्य अनुरुप बैंकले कर्जा तथा सापटमा ११ प्रतिशत वृद्धि गरी करिब रु एक खर्ब दुई अर्ब ९२ करोड र निक्षेप संकलनमा १४ प्रतिशत वृद्धि गरी रु एक अर्ब १३ अर्ब ८६ करोड पु¥याउने भएको छ । सोही योजनाअनुसार बैंकका व्यावसायिक गतिविधि अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताएका छन् ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकको स्थापनाकालदेखि कृषिको व्यावसायिकीकरण, औद्योगिकीकरण तथा बैंकिङको माध्यमबाट गरिबी निवारण र रोजगारी सिर्जनामा अहम् भूमिका खेल्दै आएको बताए।
उहाँले मुलुकको उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको बैंकले समयानुकूल नवीन प्रविधि र दक्ष जनशक्तिको विकास गरी सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने सुझाव दिए ।
अर्थमन्त्री कार्कीले कृषि बैंकको संघीय शासन प्रणालीअनुरुप आफ्नो सेवालाई ग्रामीण भेगका जनताको पहुँचमा पु¥याउनुपर्ने र यस अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
अर्थराज्यमन्त्री उदयशमशेर राणाले बैंकले आफ्नो सेवालाई बढी भन्दा बढी ग्रामीण जनतासामु पु¥याउन पूँजी वृद्धि गर्नुपर्ने सुझाव दिए ।
बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले अर्धसरकारी स्वामित्वको बैंक भए पनि कतिपय नीतिगत अप्ठ्याराका कारण बैंकिङ सेवा प्रवाहमा समस्या भइरहेको बताएका छन ।
बैंकको अहिले देशभर २५३ वटा शाखा कार्यालय सञ्जालमार्फत सेवा प्रवाह भइरहेको छ । हाल दुई हजार ८२५ कर्मचारी रहेको यस बैंकका दुई लाखभन्दा बढी शेयरधनी छन् । वार्षिकोत्सवका अवसरमा बैंकमा २० वर्षभन्दा बढी अवधि सेवा गरेका ५३ जना कर्मचारीलाई सम्मान गरिएको थियो । (रासस)