Logo
२१ कार्तिक २०८१, बुधबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातै प्रदेशमा आज शपथ : हतारमा रातभर तयारी

काठमाडौँ : सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण सम्बन्धित प्रदेशको अस्थायी मुकाममा आज हुँदैछ । संघीयतामा गइसकेपछि नेपालको इतिहासमा आज हुन लागेको यो एउटा नयाँ र पहिलो प्रयोग हो । आजका दिनदेखि प्रदेशहरुको गठन र कार्य औपचारिकरुपमा सुरु हुनेछ । प्रदेशका सांसदहरुले सपथ प्रहण गरिसकेपछि अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न विधेयकहरु पारित हुने लगायतका कामहरु अगाडि बढ्नका लागि बाटो खुल्ने छ ।

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराउने छन् । आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै सम्पन्न गर्नुपर्नेछ । प्रदेशसभा सदस्य राष्ट्रिय सभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्तिलगत्तै हतार–हतारमा शपथग्रहणको कार्यक्रम राखिएको हो । आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबारै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ । त्यसैले शपथका लागि रातारात तयारी गरिएको हो ।

कतिपय प्रदेश मुकाममा शनिबार रातभर तयारी जारी रहने सरकारी अधिकारीहरूले जनाएका छन् । निर्वाचन आयोगले प्रदेशसभामा निर्वाचित भएको प्रमाणपत्र वितरण शुक्रबार मात्र गरेकाले सबै सांसद काठमाडौंमै थिए । कतिपय सांसद र प्रदेश प्रमुखसमेत शनिबार रातिसम्म मुकाम पुगिसकेका छैनन् । उनीहरू बाटोमै रहेको र आइतबार निर्धारित समयभित्र पुग्ने जनाइएको छ । शनिबार मौसमी खराबीका कारण काठमाडौंबाट उडान प्रभावित हुँदा उनीहरूलाई सम्बन्धित प्रदेश मुकाम पुग्न केही असहज भएको थियो । कतिपय प्रदेश प्रमुखहरू र सांसद सडकमार्गबाटै अबेर मात्र मुकाम पुगेका थिए ।

प्रदेश २ को प्रदेशसभा सदस्यहरूको शपथका लागि जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृह सिँगारिएको छ । प्रदेश प्रमुखको आवासका रूपमा प्रयोग गरिने जनकपुर चुरोट कारखानाको महाप्रबन्धक निवास पनि सरसफाइ गरिँदैछ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ शनिबार हवाई जहाजबाट जनकपुर आउने कार्यक्रम तय भए पनि मौसमी खराबीले उडान रद्द भएपछि स्थलमार्गबाटै आइरहेको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार शपथग्रहणको आधिकारिक कार्यक्रम प्रदेश प्रमुखको निर्देशनअनुसार निर्धारण गरिनेछ ।

३ नम्बर प्रदेशको प्रदेशसभा सचिवालय मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा राखिएको छ । प्रदेशसभा सदस्यहरूलाई आइतबार निर्देशनालयकै सभाहलमा शपथग्रहण गराउने कार्यक्रम छ । सभाहलमा माइक र कुर्सीलगायत व्यवस्थापन जारी रहेको प्रजिअ चक्रबहादुर बुढाले बताए । प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार बिहान १० बजे एक समारोहबीच प्रदेश प्रमुखको कार्यालयमा ३ नम्बर प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथग्रहण गराउने कार्यक्रम छ ।

शनिबार हेटौंडा आउने प्रदेशसभाका सदस्यलाई होटलमा खानेबस्ने व्यवस्था स्थानीय तह र संघसंस्थाले मिलाएका छन् । शपथपछिको खानाको व्यवस्था जिससले मिलाएको छ । हेटौंडा बजारमा चारवटा स्वागतद्वार निर्माण गरिएको छ भने बजारका विभिन्न भागमा घडा राख्ने तयारी छ । हेटौंडावासी प्रदेशसभा सदस्यहरूको स्वागत गर्न आतुर रहेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडालाई तोकेपछि प्रदेशस्तरीय कार्यालय, प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीहरूको कार्यालय र मन्त्रालय राख्ने भवन तोक्न क्षेत्रीय प्रशासक पाण्डे तथा प्रजिअ बुढालाई समस्या भएको छ । हेटौंडास्थित क्षेत्रीय र जिल्लास्तरीय कार्यालयमा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू राख्नुपर्ने र कार्यालयहरू स्थापना गर्नुपर्ने छ ।

प्रदेश ४ का प्रमुख बाबुराम कुँवर शनिबारै पोखरा आइपुगेका छन् । उनलाई पोखरा विमानस्थलमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रदेश प्रहरी प्रमुख कमलसिंह बमलगायतले स्वागत गरे । प्रदेशसभाका सांसदलाई आइतबार बिहान शपथग्रहण गराउने कार्यक्रम छ । सुरुमा प्रदेश प्रमुख कुँवरले प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्यलाई शपथ गराउने र लगत्तै ज्येष्ठ सदस्यले अरू सांसदलाई शपथग्रहण गराउने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । आइतबार हुने प्रदेशसभा सदस्यको शपथग्रहणका लागि प्रदेश ५ मा सबै तयारी सकिएको छ । शपथग्रहणका लागि सचिवालय स्थापना, साजसज्जा, भौतिक व्यवस्थापन, सुरक्षालगायत तयारी सकिएको प्रदेश प्रमुख उमाकान्त झाले बताए ।

शनिबार प्रशासनसहित सरोकारवालाको छलफलले सांसदलाई स्वागत गर्ने, कार्यक्रम स्थलसम्म ल्याउने, विश्राम गराउनेदेखि खाना खुवाउनेसम्मको व्यवस्थापन मिलाएको छ । प्रदेश ६ का प्रदेशसभा सदस्यहरूको शपथ जिल्ला समन्वय समितिको हलमा खुवाउने तयारी गरिएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार ११ बजे प्रदेशसभाका ४० जना सदस्यलाई शपथ खुवाउनेछन् । क्षेत्रीय प्रशासन कार्यालयले २ महिनाअघिदेखि नै प्रदेश प्रमुख र प्रदेश संसद् भवनको छनोट गरे पनि सरकारले प्रदेश प्रमुखको कार्यालय व्यवस्थापनमा ढिलाइ गर्दा जिसस हलमा शपथ खुवाउन लागिएको हो ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्