Logo
९ मंसिर २०८१, आईतबार
(January 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन् सुमार्गीले सिरोहियामाथि लगाएका १५ आरोप

काठमाडौं : उद्यमी अजयराज सुमार्गीले कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियामाथि गम्भीर आरोप लगाएका छन् । सुमार्गीले कैलाशलाई ब्ल्याकमेलरको आरोप लगाउँदै कान्तिपुरले पाठकमाथि गम्भीर विश्वासघात गरेको आरोप समेत लगाए । वानेश्वरस्थित मुक्तिश्री टावरको छैटौं तलामा सोमबार पत्रकार सम्मेलन गर्दै सुमार्गीले कैलाशमाथि लगाएका आरोप यस्ता छन् :

१ बि.स. २०७० सालमा कान्तिपुर मिडिया ग्रुपमा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र मबीच जग्गा कारोबार भएको तथ्य यहाँहरूको जानकारीमा आइसकेको छ । जग्गा कारोबार भएको केही समयलगत्तै ‘सुमार्गीले अप्ठ्यारोमा पारेर सस्तोमा जग्गा हत्यायो’ भन्दै हिँडेका उनी अहिले उक्त जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न उद्यत देखिएका छन् । जग्गा कारोबारको एक वर्षपछि मेराविरुद्ध उनले गाली बेइज्जती सुरु गरेको जगजाहेर नै छ । २६ असोज, ०७१ मा कान्तिपुर ग्रुपअन्तर्गतको ‘नेपाल’ साप्ताहिकमा मेराबारे छापिएको पहिलो प्रलापको दृष्टान्त हो, जहाँ मैले भित्र्याएको ऋण लगानी ‘जफत हुने अवस्थामा पुगेको’ भनी लेखिएको छ । उक्त पत्रिकामा छापिएको सामग्री निराधार थियो, मलाई बदनाम गर्ने एक मात्र उद्देश्यले निर्देशित थियो ।

२ म सिरोहियाजीलाई भन्न चाहन्छु, उक्त जग्गाको खरिदबिक्री राजीखुसीमै भएको थियो । राज्यको प्रचलित कानुनबमोजिम नै थियो । दोस्रो कुरा, मैले तपाईंलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइन, तपाईंको अनुनय विनय स्वीकारेको मात्र हुँ । त्यतिखेर तपाईंको परिस्थिति नै अप्ठ्यारो थियो । मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईं बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो । त्यस्तो अप्ठ्यारो परिस्थितिमा लगाइदिएको गुन बिर्सेर, पुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईंले कृतघ्नताको हद नाघ्नुभएको छ । अहिले सञ्चार माध्यम जस्तो साधनलाई बदनामीको हतियार बनाउँदै निन्दनीय काम गर्नुभएको छ ।

३यो ‘ब्ल्याकमेलिङ’ नै हो । यसबारे मैले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकेको छु भने सम्मानित काठमाडौं जिल्ला अदालतमा २५ करोड रुपैयाँ क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरिसकेको छु ।

४ मेरो बारेमा पटक पटक सामग्री प्रकाशन÷प्रसारण गर्दासमेत मसँग एक पटक पनि प्रतिक्रिया लिने चेष्टा गरिएन, जुन विषय पत्रकारिताको सामान्य सिद्धान्तविपरीत छ । यसमा कान्तिपुरले जे गरे पनि हुन्छ भन्ने घमण्ड प्रतिविम्बित भएको छ । मैले पठाएको खण्डनलाई समेत उक्त अखबारमा अपांग पारी छापिएको छ । यसबाट सिरोहियाको कपटपूर्ण उद्देश्य पूर्तिका लागि त्यसका प्रधानसम्पादकसमेत संलग्न भएका छन् ।

५ नेपालको संविधानले व्यक्तिको सम्पत्तिको हकलाई सुनिश्चित गर्दै कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार तथा चरित्रसम्बन्धी विषयको गोपनीयता अनतिक्रम्य हुने गरी सुनिश्चित गरेको छ । मेरा व्यक्तिगत जीवन र कारोबारहरूविरुद्ध झूठा लाञ्छना लगाई कपोलकल्पित रूपमा प्रकाशन तथा प्रशारण गरी मेरो संविधानप्रदत्त मौलिक हकमा समेत आघात पु¥याउने कुचेष्टा गरेको स्पष्टै छ ।

६ सरकारी प्रक्रियामा रहेको मेरो वैदेशिक ऋण तथा लगानीसम्बन्धी विषयलाई ‘शंका, आशंका, सम्भावना, हुन सक्ने’ जस्ता शब्दको सहारामा नेपाल साप्ताहिक, कान्तिपुर नेपाली दैनिक, द काठमान्डु पोस्ट अंग्रेजी दैनिक, कान्तिपुर टिभी र रेडियो कान्तिपुरका बुलेटिनहरूमा दर्जनौं पटक र द काठ्मान्डु पोस्ट सदस्य रहेको एसिया न्युज नेटवर्कको वेबसाइटमा समेत शीर्षक परिवर्तन गरी गरी भ्रम छर्ने गरेको देखिएको छ । एसिया न्युज नेटवर्क त्यस्तो संस्था हो, जसले लगानीकर्ताहरूलाई एसिया क्षेत्रमा लगानीको अवसर र सम्भाव्यताबारे जानकारी दिने उद्देश्य राख्दछ । कान्तिपुर मिडिया ग्रुपले आफू सदस्य रहेको त्यस्तो संस्थालाई समेत गुमराहमा राखेको छ । मेरा व्यावसायिक फर्ममार्फत नेपालमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई समेत निरुत्साहित गर्ने प्रयत्न गरेको देखिन्छ ।

७सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जुन गोप्य अनुसन्धान प्रतिवेदनको हवाला दिँदै कान्तिपुरले दिएको समाचारप्रति मेरो शंका छ ।

८ ‘अवैध धन, कालो धन्दा, कालो धन’ जस्ता शब्दको सहारामा राष्ट्रसेवक कर्मचारीहरू समेतलाई अफवाहमार्फत दबाब पैदा गर्ने उसको नियत देखिन्छ । ‘विदेशबाट आउने त्यस्तो लगानी आतंककारी क्रियाकलापमा प्रयोग हुन सक्ने’ भन्नेजस्ता निराधार टिप्पणी संप्रेषण गर्ने प्रकाशक÷सम्पादकलाई म प्रश्न गर्न चाहन्छु, के सिमेन्ट कम्पनी, हाइड्रो, दूरसञ्चार आदिमा लगानी गर्नु आतंककारी क्रियाकलापलाई प्रोत्साहन गर्नु हो ? वा, नेपालमा ठूलो परिमाणमा रोजगारी सिर्जना गर्नु आतंककारी क्रियाकलाप हो ?

९ निज कैलाश सिरोहियाले आफ्नो सञ्चार माध्यमको दुरुपयोग गरेर मेरो सामाजिक प्रतिष्ठामा गम्भीर आघात पु¥याएका छन् । नियोजित रूपमा गरिएको यस्तो प्रहारबाट मेरो सम्झौता भइसकेको वैदेशिक ऋण लगानी प्रभावित हुन सक्ने र थप लगानीसमेत प्रतिकूल असर पर्नसक्ने देखिन्छ । मेरा आयोजनाहरूमा पर्याप्त लगानी नपुगेर पूर्णता नपाउने वा उत्पादनमा ह्रास हुने अवस्था आएको छ । सरकारी निकायहरूमा नकारात्मक सन्देश प्रवाहित भएर मेरो कामकारबाही प्रभावित हुन सक्ने अवस्थासमेत सिर्जना भएको छ ।

१० कान्तिपुर मिडिया ग्रुपको निरन्तरको बदनियतपूर्ण सामग्रीबारे मैले मौनता भंग गरेपछि निज कैलाश सिरोहिया अनेकन संस्थाहरूलाई गुमराहमा पारेर ती संस्थाहरूलाई आफ्नो सुरक्षा कवचको रूपमा प्रयोग गर्न÷गराउन उद्यत देखिएका छन् । त्यसक्रममा, कान्तिपुर ब्ल्याकमेलिङ प्रकरण अदालतमा पुगेपछि नेपाल मिडिया सोसाइटीले जारी गरेको विज्ञप्तिप्रति मेरो ध्यानाकर्षण भएको छ । यो ब्ल्याकमेलिङ प्रकरणमा निज सिरोहिया नेपाल मिडिया सोसाइटीका सदस्यहरूलाई भ्रममा पार्न एक हदसम्म सफल देखिएका छन् । एक सञ्चार उद्यमीसमेतको नाताले म नेपाल मिडिया सोसाइटीसामु जिज्ञासा राख्न चाहन्छु, एउटा सञ्चार माध्यमको दुरुपयोग गरेर कुनै सञ्चार उद्यमी ब्ल्याकमेलिङ गर्ने तहमा झर्छ भने मिडिया सोसाइटीले त्यसको जिम्मा लिन कसरी मिल्छ ? के सोसाइटीको कुनै एक सदस्यले निजी जीवनमा गर्ने आपराधिक कार्यको जिम्मा लिनु विवेकसम्मत हुन्छ ? म यो ब्ल्याकमेलिङ प्रकरणबारे गम्भीरताका साथ सोच्न मिडिया सोसाइटीका आदरणीय सदस्यहरूलाई आग्रह गर्दछु ।

११ कान्तिपुरको बदनियत १०, पुस ०७४ मा प्रकाशित सम्पादकीयमा स्पष्ट झल्किएको छ । उक्त रकमका बारेमा कान्तिपुर लेख्छ, ‘तीन वर्षसम्म पनि निष्कर्षमा पुग्न नसक्नु कतै सुमार्गीलाई सफाइ दिने प्रपञ्च त होइन ?’ उक्त सम्पादकीयमा ‘कान्तिपुरले अपराधी करार गरेपछि भइहाल्यो नि, किन उनलाई कारबाही नगरेको’ भन्ने दुराशय झल्कन्छ । दुई सातायता कान्तिपुरले आफ्ना सम्पूर्ण समाचारमध्ये सबैभन्दा धेरै शब्द मेराविरुद्ध खर्च गर्नुले पनि कान्तिपुर र निज सिरोहियाको बदनियत प्रष्ट पार्दछ ।

१२ नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावली छ, गोल्डेन शेयर । यो त्यस्तो सुनौलो शेयर हो, जुन कुनै पनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानावापत दिनुपर्दछ । निज सिरोहियाले मसँग सेयरको सट्टा पुरानै मोलमा जग्गा फिर्ता मागे । निज सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यावसायिक प्रतिष्ठानहरू अहिले तैँ चुप मै चुपको अवस्थामा छन् किनभने कान्तिपुरले उनीहरूमाथि पनि अपराध गर्न सक्छ ।

१३ सत्यतथ्य समाचार पस्कने दायित्व बोकेको सञ्चारगृह अर्काको सम्पत्तिमा गिद्देदृष्टि लगाउँदै बदनियतपूर्ण समाचार प्रकाशन तथा प्रसारण गरी अपराध कर्ममा सामेल भएको त छ नै, साथै सत्यतथ्य समाचारका हकदार पाठकहरूलाई विश्वासघातसमेत गरेको छ ।

१४ सानै उमेरबाट अनेक हण्डर–ठक्कर खाँदै यहाँसम्म आइपुगेको मेरो जीवनमा कान्तिपुर ब्ल्याकमेलिङ प्रकरणले केही दिन, केही महिना भ्रम छरे पनि केही वर्षपछि ठूलो अर्थ राख्ने छैन । किनभने सत्यका अघि झूट धेरै समय टिक्दैन, टिक्नै सक्दैन भन्ने मेरो विश्वास छ । यो ब्ल्याकमेलिङ प्रकरण नेपाली पत्रकारिता जगतको कालो धब्बाको रूपमा ५०औँ वर्षसम्म रहिरहनेछ ।

१५अन्त्यमा, मविरुद्ध आइरहेका सिलसिलेवार मनगढन्ते कथा कहानीहरूबाट कति पनि भ्रममा नपर्न म सबैमा अपिल गर्दछु । सञ्चार माध्यमको दुरूपयोग गरी ब्ल्याकमेलिङ गर्ने ती प्रलापहरूबाट अविचलित रहन सरोकारवालाहरूमा पनि आग्रह गर्दछु । राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने मेरो प्रयासमा यस्ता प्रहारहरूले रत्तिभर फरक पर्ने छैन । मेरा कुनै कामकारबाही गलत र गैरकानुनी छैनन् । प्रचलित कानुनको कसीमा घोटिन म हरदम तयार छु ।

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्